पब्लिक सूचना
काठमाडौँ, असार २८ गते । “जति सक्छु, म देश, जनता र पार्टीको सेवामा लाग्छु, मलाई मन्त्री बन्नु छैन । उहाँ (पुष्पकमल दाहाल ‘प्रचण्ड’) ले नै गर्दै हुनुहुन्छ नि,” शालीन, सरल र स्पष्ट स्वभावकी धनी सीता दाहालले झन्डै दशकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका दौरान दिल्लीमा ‘पार्टी अध्यक्षकै श्रीमती हुनुहुन्छ, सँगै जनयुद्ध लड्नुभयो, अब त तपाईंलाई पनि मन्त्री बन्न मन होला नि ?’ भन्ने प्रश्नमा यही जवाफ दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) ले पार्टीको अभिभावक गुमाएको छ। बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधन भएसँगै माओवादी केन्द्रले पार्टीको अभिभावक गुमाएको हो।
१० वर्ष लामो सशस्त्र द्वन्द्वको तयारी, द्वन्द्वको कठिन अवधिदेखि शान्तिप्रक्रिया हुँदै पार्टीलाई पटकपटक सरकारको नेतृत्वमा पुर्याउन असीमित निःस्वार्थ योगदान दिने दाहाललाई माओवादीले गुमाएको हो।
वि.सं. २०११ साल असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिनुभएका सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको हो। उहाँ विवाह भएको दुई वर्षपछि २०२८ सालमा कम्युनिष्ट आन्दोलनमा अबद्ध हुनुभएको थियो। राजनीतिमा तल्लो तह मानिने जिल्ला, क्षेत्र हुँदै केन्द्रसम्म विभिन्न जिम्मेवारी निर्वाह गर्दै दाहाल पछिल्लो समय पार्टीको केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा हुनुहुन्थ्यो। माओवादी भूमिगत हुनुभन्दा अगाडि दाहाल पञ्चायत अवधिमा समेत लामो समय भूमिगत जीवनमा हुनुहुन्थ्यो।
‘‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना र राष्ट्रप्रतिको निःस्वार्थ समर्पण उहाँका विशेषता हुन्। आफ्ना योगदानमार्फत उहाँ स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ।’’

जीवनसँगिनीका साथ प्रधानमन्त्री प्रचण्ड ।
निर्विवाद सीता
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताले लामो राजनीतिक जीवनमा कहिल्यै विवादास्पद काम गर्नुभएन। नेपालको राजनीतिमा नेताहरु परिवारका कारण विवादमा आएका थुप्रै उदाहरण छन्। तर सीता दाहालले पार्टी अध्यक्ष प्रचण्ड र समग्र पार्टीलाई विवादमा तान्ने काम कहिल्यै गर्नुभएन। माओवादी पार्टीमा आफू जलेर अरुलाई उज्यालो दिने बत्तीको ‘सलेदो’को भूमिकामा दाहाल निरन्तर बस्नुभयो। कहिल्यै लाभको पद माग्नुभएन। जस्तोसुकै कठिन परिस्थिति आइलागे पनि त्यसलाई शान्त ढङ्गले समाधान गर्दै पार्टी अध्यक्ष प्रचण्डलाई तीन तीन पटक सरकारको नेतृत्वमा पुग्न योगदान गर्नुभयो।
पार्टी अध्यक्ष प्रचण्ड र समग्र पार्टीका नेतालाई समदृष्टिले हेर्ने सीता दाहालले राजनीतिक सङ्घर्षकै क्रममा चार सन्तानमध्ये जेठी छोरी ज्ञानु र छोरा प्रकाश दाहाललाई गुमाउनुभयो। ज्ञानुको मृत्यु क्यान्सरका कारण भयो भने छोरा प्रकाशको घरमै सुतेको ठाउँमा हृदयाघातका कारण निधन भयो। छोरा प्रकाशनको निधनपछि उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। छोराको निधनले मन विचलित भएको र उहाँलाई पार्किन्सन रोगले सताउँदै लगेको उनका परिवारका सदस्यले बताउँदै आएका थिए। पछिल्ला केही वर्षयता उहाँ राम्री बोल्नसमेत नसक्ने अवस्थामा हुनुहुन्थ्यो। उहाँको हेरचाहमा छोरी रेणु र गङ्गाले अन्तिम समयसम्म साथ दिनुभएको छ।

प्रेरणाको स्रोत
माओवादी केन्द्रका महासचिव देव गुरुङ सीता दाहालले भूमिगत राजनीतिदेखि अहिलेसम्म पार्टीमा समन्वयकारी भूमिका निर्वाह गरेको बताउनुहुन्छ। दाहालले पार्टीभित्र चुनौती र सङ्कट देखिँदा समन्वयकारी भूमिका निर्वाह गरेको उहाँ सम्झना गर्नुहुन्छ। ‘‘जनयुद्धको सुरुवात भएपछि २०५२ सालमा भूमिगत राजनीतिमा सक्रिय हुँदै जनयुद्धको अवधिमा सिङ्गो पार्टीको अभिभावकका रुपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो’’, महासचिव गुरुङ भन्नुहुन्छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend