पब्लिक सूचना
नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’ मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन्।
उनलाई निर्देशक तथा निर्मात्री समेत रहेकी नीताले फिल्मका लागि अनुबन्ध गरेकी हुन्। आइतबार निर्माण पक्ष र मिथिलाबीच कागजी सम्झौता भएको हो।
उनलाई अनुबन्ध गर्दै नीताले भनिन्, ‘सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौं। सायद उहाँबीना यो फिल्म अपुरो हुन्थ्यो। अब पूर्ण हुने बाटोमा जाँदैछ।’
एक समयको सुपरहिट फिल्म ‘सुख दुःख’ मा मिथिलाको मुख्य अभिनय थियो। दर्जनौं फिल्ममा अभिनय गरेकी मिथिलाको आगामी फिल्म ‘मोहर’ साउन २३ गतेदेखि प्रदर्शनमा आउँदैछ।
निर्माण तयारीमा रहेको ‘सुख दुःख’ को कुरा गर्दा यो फिल्ममा यसअघि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका थिए। उनीहरु बाहेक यो फिल्मको मुख्य कलाकार को रहने निर्माण पक्षले खुलाएको छैन। नीताले मुख्य कलाकारको बारेमा केही सातापछि जानकारी दिने बताइन्।
नीता ढुंगानाको डेब्यु निर्देशन रहने फिल्ममा फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ।
निर्देशक ढुंगानाले अन्य कलाकारहरूको बारेमा जानकारी सार्वजनिक गरेकी छैनन्।
‘नीता फिल्म्स’ को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातिका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend