logo
  • शनिबार, असोज १७ २०८३

सेप्टेम्बर ९ देखि पुरुष एसिया कप क्रिकेट प्रतियोगिता युएईमा आयोजना हुने


  • पब्लिक सूचना
  • आइतबार, साउन ११ २०८२

सन् २०२५ मा हुने पुरुष एसिया कप क्रिकेट प्रतियोगिता युएईमा आयोजना हुने पक्का भएको छ। सेप्टेम्बर ९ देखि सुरु हुने यो प्रतियोगितामा भारत र पाकिस्तानलाई समूह ‘ए’ मा राखिएको छ। समूह चरणमा यी दुई टोलीबीचको बहुप्रतिक्षित खेल सेप्टेम्बर १४ मा हुनेछ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिताको मिति घोषणा गरेको हो। आगामी टी-२० विश्वकपलाई ध्यानमा राख्दै यो पटकको एसिया कप पनि टी-२० ढाँचामा खेलिनेछ। यस संस्करणमा पहिलो पटक ६ को सट्टा ८ टोलीले सहभागिता जनाउनेछन्।

•    समूह ‘ए’: भारत, पाकिस्तान, ओमान र आयोजक युएई।
•    समूह ‘बी’: बंगलादेश, अफगानिस्तान, श्रीलंका र हङकङ।

प्रतियोगिताको उद्घाटन खेल सेप्टेम्बर ९ मा बंगलादेश र हङकङबीच हुनेछ। दुवै समूहका शीर्ष दुई-दुई टोली ‘सुपर फोर’ चरणमा प्रवेश गर्नेछन्। सुपर फोरबाट पनि शीर्ष दुईमा रहने टोलीले सेप्टेम्बर २८ मा हुने फाइनलमा स्थान बनाउनेछन्।

प्रतियोगिताको ढाँचाअनुसार भारत र पाकिस्तानबीच तीन पटकसम्म भिडन्त हुन सक्ने सम्भावना छ। समूह चरणको खेल सेप्टेम्बर १४ मा हुनेछ। यदि दुवै टोली सुपर फोरमा पुगे भने त्यहाँ अर्को खेल (सम्भवतः सेप्टेम्बर २१ मा) हुनेछ र दुवै फाइनलमा पुगेमा तेस्रो पटक उपाधिका लागि भिड्नेछन्। तर, एसिया कपको इतिहासमा आजसम्म भारत र पाकिस्तानबीच फाइनल खेल भएको छैन।

यो प्रतियोगिताको आधिकारिक आयोजक भारत हो। तर, भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण दुई देशका क्रिकेट बोर्डबीच भएको सम्झौताअनुसार एक-अर्काको देशमा हुने प्रतियोगिता तटस्थ स्थानमा खेलाइनेछ। यसै कारण भारतले आयोजना गर्ने भए पनि खेलहरू युएईमा हुन लागेको हो।

भारत एसिया कपको हालको विजेता हो। भारतले २०२३ मा भएको एकदिवसीय ढाँचाको फाइनलमा श्रीलंकालाई हराएको थियो। पछिल्लो पटक २०२२ मा भएको टी-२० ढाँचाको एसिया कप भने श्रीलंकाले जितेको थियो। उसले फाइनलमा पाकिस्तानलाई पराजित गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend