पब्लिक सूचना
आगामी दशैँको फूलपातीको दिनमा ‘पशुपति प्रसाद २: भष्मे डन’ स्वदेश तथा विदेशका चलचित्र घरमा एकसाथ रिलिज गर्ने तयारी भएको छ । सोमबार टुकी आर्ट्सले एक विज्ञप्ति सार्वजनिक गर्दै सिनेमा आगामी फूलपातीका दिन नेपालसहित अन्य देशमा एक साथ सार्वजनिक गरिने पक्का भएको जानकारी दिएको हो ।

विदेशमा सिनेमा रिलिज गर्ने सम्पूर्ण जिम्मा सेभेन सिज प्रालिले लिएको छ । सार्वजनिक भएको विज्ञप्ति अनुसार सिनेमा अमेरिकामा करिब एक हजारदेखि एक हजार दुई सय सो, युकेमा पाँच सय सो, अस्ट्रेलियामा पाँच सय सो, क्यानडामा १५० सो, मध्य पूर्वका देशहरूमा करिब साढे सात सय सो, जापानमा एक सय सो, युरोपका विभिन्न देशमा ५० सो र भारत, दक्षिण कोरिया, मलेसिया, इराक र हङकङमा सिनेमा रिलिज पक्का भइसकेको छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरको अभिनय रहेको छ । सिनेमाको लेखक र निर्माता खगेन्द्र लामिछाने हुनुहुन्छ ।
![]()
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको सङ्गीत रहने छ । सिनेमा विदेशका ठुला र नाम चलेका मल्टिप्लेक्स चेनहरूमा पहिलो पटक रिलिज हुन लागेको हो । भष्मे डनको अन्तर्राष्ट्रिय रिलिजले नेपाली सिनेमा उद्योगलाई नै माथि उठाउन सहयोग पुग्ने निर्माताको विश्वास छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend