logo
  • शनिबार, असोज १७ २०८३

२०८२/८३ को बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा विषयक संवाद गोष्ठी सम्पन्न: उद्यमशील काँग्रेसका अध्यक्ष अस्मिन सिटौलाको विशेष प्रस्तुति


  • पब्लिक सूचना
  • मंगलबार, जेष्ठ २७ २०८२

काठमाडौं, २०८१ जेठ २६ – नेपाली काँग्रेस आर्थिक नीति तथा योजना विभागको आयोजनामा “२०८२/८३ को बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा विषयक संवाद गोष्ठी” हिजो पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न भयो। नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित उक्त कार्यक्रममा योजना, नीति, तथा अर्थशास्त्रका वरिष्ठ विज्ञहरू, पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्षहरू, योजना विश्लेषकहरू तथा उद्यमशील युवा नेतृत्वको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाली काँग्रेस आर्थिक नीति तथा योजना विभाग समितिका अध्यक्ष तथा नेपाली काँग्रेसको केन्द्रीय सदस्य   प्रा.डा गोबिन्द राज पोख्रेलद्वारा कार्यक्रमको सभापतित्वको भूमिका निभाउदै  र नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख  आथित्यमा  सम्पन्न उक्त गोष्ठीले पार्टीलाई भावी नीति निर्माण तथा प्रतिपक्षी भूमिका निर्वाह गर्न सशक्त मार्गदर्शन गर्ने अपेक्षा लिइएको छ।

कार्यक्रममा प्रमुख वक्ताहरूका रूपमा डा. पृथ्वीराज लिगल, डा. जगदीश चन्द्र पोखरेल, प्रा.डा. विश्वम्भर प्याकुरेल, प्रा.डा. ओम शर्मा, प्रा.डा. कुसुम शाक्य, डा. पोषणराज पाण्डे, प्रा.डा. विनयकुमार कुँस्यत लगायतले आ–आफ्नो विश्लेषण प्रस्तुत गरे।

उक्त कार्यक्रममा उद्यमशील काँग्रेसका अध्यक्ष अस्मिन सिटौलाले वर्तमान बजेट युवामैत्री भएको उल्लेख गर्दै यसपटकको बजेटले उद्यमशीलताको यात्रा अघि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। तर उनले बजेट अघिल्लो वर्षको तुलनामा कटौती गरिएकोप्रति चिन्ता व्यक्त गरे।

उनले भने, “नेपालको युवा श्रम बजारको तथ्यांक हेर्दा हाम्रो देशमा १५–२४ उमेर समूहको बेरोजगारी दर २०.८% (२०२४), श्रमशक्ति सहभागिता दर २२.५%, वार्षिक रूपमा ९ लाख युवा वैदेशिक रोजगारमा जाने, र ७५.५% जना अप्रशिक्षित अवस्थामा बाहिरिने स्थिति रहेको छ। यसले गम्भीर चुनौती देखाउँछ।”

सिटौलाले भारत र बंगलादेशमा युवासम्बन्धी योजना ल्याइए पनि त्यसको दीर्घकालीन प्रभाव नपरेको अनुभवको उल्लेख गर्दै भने, “यस्ता योजनामा दीर्घकालीन प्रतिबद्धता, स्वामित्वको भावना, नीतिगत स्पष्टता र इमान्दारी कायम नहुने हो भने हाम्रो देशले पनि उही समस्याको सामना गर्न सक्छ। त्यसैले यस्ता योजनालाई नीतिगत र कानुनी ढाँचामा संस्थागत गर्न जरुरी छ।”

कार्यक्रममा वक्ताहरूले समग्र बजेट प्रणाली, प्राथमिकता निर्धारण, योजना कार्यान्वयनको यथार्थता, र संघीय ढाँचामा देखिएको असमानताको आलोचना गर्दै समावेशी, पारदर्शी र दीर्घकालीन आर्थिक विकास सुनिश्चित गर्ने उपायहरूको सुझाव दिए।

कार्यक्रममा नेपाली काँग्रेस आर्थिक नीति तथा योजना विभागका सचिब नबिन खनालले  उत्घोसक तथा कार्यक्रम संचालकको भूमिका खेल्दै  बेग्लै उर्जा सहित कार्यक्रमलाई व्यवस्थितरुपमा संचालन गर्नु भयो। कार्यक्रमको समापनमा नेपाली काँग्रेसले यस्ता प्राज्ञिक र तथ्याधारित छलफललाई निरन्तरता दिँदै, आगामी आर्थिक नीति निर्माणमा पार्टीको गहन सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता जनायो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend