logo
  • आइतबार, असोज १८ २०८३

जितेन्द्र भण्डारी अनेरास्ववियू (क्रान्तिकारी) को स्वास्थ्य विभाग प्रमुखमा नियुक्त


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ २३ २०८२

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को स्वास्थ्य विभागको प्रमुखमा संगठनका केन्द्रीय सचिव समेत रहेका क. जितेन्द्र भण्डारीलाई नियुक्त गरिएको छ। केन्द्रिय सचिव समेत रहेर संगठनभित्र लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका भण्डारीले नेतृत्व क्षमता, सांगठनिक योगदान र स्वास्थ्य क्षेत्रमा देखाएको चासोका कारण यो महत्वपूर्ण जिम्मेवारी पाएका हुन्।

२०८१ सालको राष्ट्रिय महाधिवेशनपछि संगठनलाई पुनः मजबुत बनाउने क्रममा केन्द्रले नेतृत्व तहमा केही पुनःसंरचना गर्दै आएको छ। यही क्रममा २०८१ माघ २६ गते काठमाण्डौंमा सम्पन्न अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकले नव-निर्वाचित कमिटीलाई थप जिम्मेवारी दिने निर्णय गर्दै भण्डारीलाई स्वास्थ्य विभागको नेतृत्व सुम्पिएको हो।

भण्डारीले युवा, विद्यार्थी र समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्ने, विद्यालय तथा क्याम्पसमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू अगाडि बढाउने लगायतका योजनाहरू अघि सार्ने बताएका छन्। उनले भने, “संगठनले दिएको यो जिम्मेवारीलाई म उच्च सम्मानका साथ स्वीकार गर्दछु। स्वास्थ्य र शिक्षा सँगसँगै जानुपर्ने विषय हुन्, र हामी युवाहरूले यो क्षेत्रमा सार्थक पहल गर्न सक्छौं।”

स्वास्थ्य विभागको सुदृढीकरणमार्फत संगठनले विद्यार्थीहरूबीच सामाजिक उत्तरदायित्व र सेवाभावको संस्कृति विकास गर्न चाहेको बताइएको छ। भण्डारीले संगठनलाई अझ सशक्त, उत्तरदायी र विद्यार्थीमैत्री बनाउने दिशामा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

संगठनका प्रवक्ता नवराज पुनका अनुसार, केन्द्रीय नेतृत्वले जिम्मेवारी बाँडफाँट गर्दा क्षमता, निष्ठा र कार्यशैलीलाई मुख्य आधार बनाएको छ। “भण्डारी कमरेडले विगतमा विभिन्न मोर्चामा देखाएको सक्रियता संगठनको प्रेरणाको स्रोत हो,” पुनले बताए।

यो नियुक्तिसँगै अनेरास्ववियू (क्रान्तिकारी) भित्र स्वास्थ्यसम्बन्धी क्रियाकलापहरू अझ प्रभावकारी ढंगले अघि बढ्ने विश्वास लिइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend