logo
  • शनिबार, असोज १७ २०८३

पतन्जली जग्गा प्रकरण : प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालविरुद्ध मुद्दा दायर भएको एकीकृत समाजवादीको आरोप


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ २२ २०८२

नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा आफ्ना अध्यक्ष माधवकुमार नेपालविरूद्ध मुद्दा दायर भएको टिप्पणी गरेको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा अध्यक्ष नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

काभ्रेको पतन्जली जग्गा प्रकरणमा अख्तियारले अध्यक्ष नेपालसँग यसअघि बयान लिएको थियो भने बिहीबार १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद पनि स्वत: निलम्बनमा परेको छ।

अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दायर हुनुमा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीकै निर्देशनमा यस्तो भएको प्रतिक्रिया दिए।

‘अख्तियारले यस विषयलाई लामो समयदेखि तामेलीमा राखेको थियो,’ उनले भने, ‘अहिले सरासर यो मुद्दा प्रधानमन्त्रीकै निर्देशनमा अघि बढेको देखिन्छ।’

काभ्रेमा हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पन्तजली कम्पनीलाई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वीकृति दिइएको थियो।

‘२०६६ माघ १८ गतेको मन्त्रिपरिषद निर्णयबाट पतन्जलीलाई जमिन खरिद गर्न पाउने निर्णय भएकोमा २०६६ चैत ६ को मन्त्रिपरिषदबाट उक्त जग्गा बिक्री गर्न पाउनेसमेत निर्णय भएको थियो,’ उनले भने, ‘त्यो मुनाफारहित कम्पनी थियो। ३३३ रोपनी जमिनमा आयुर्वेदिक कलेज र अस्पताल खोल्ने भनिएको थियो।’ तर कम्पनीले त्यो जग्गामा कलेज र अस्पताल खोलेन। उक्त जग्गा बिक्री गर्न मन्त्रिपरिषदबाट स्वीकृति माग्यो।

माधव नेपाल प्रधानमन्त्री भएका बेला ३३३ रोपनी जमिन करोड २२ लाख ५० हजारमा बिक्री गर्ने भनेर उक्त कम्पनीले भनेको थियो भने त्यसको सट्टामा अर्को जग्गा केही किनेको र बाँकी किन्न बैनासमेत भएको देखिएको भन्दै मन्त्रिपरिषदले बिक्री स्वीकृति दिएको थियो।

त्यसबेला यस मुद्दामा अख्तियारले केही गरिरहनु परेन भनेकोसमेत पाण्डेले बताए। ‘२०६६ मंसिर २५ मा अख्तियारले दिएको पत्रअनुसार २०९ नम्बर निर्णयअनुसार यो जग्गामा केही गरिरहनु परेन भनेर क्लिनचिट दिएको थियो, थप बुझ्न मालपोत कार्यालय काभ्रेलाई लेखिपठाउनुसमेत भनेको र उजुरी तामेलीमा राखेको थियो,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend