logo
  • शनिबार, असोज १७ २०८३

पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक नेपाली पक्राउ


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ ८ २०८२

दिल्ली प्रहरीले एक गोप्य अपरेशन सञ्चालन गरेर एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ।

दिल्ली प्रहरीले (स्लिपर सेल नेटवर्क) गुप्तचरहरूको नेटवर्कलाई भत्काउँदै दुई जना एजेन्टलाई पक्राउ गरेको भारतीय टेलिभिजन संस्था एनडिटिभीले दाबी गरेको छ।

स्लिपर सेल नेटवर्क गोप्य समूह हो। जसमा कुनै पनि व्यक्ति सामान्य नागरिकसरह समाजमा घुलमिल भएर बस्छन् र आदेश प्राप्त नगरेसम्म उनीहरूले कुनै पनि क्रियाकलाप गर्दैनन्।

दिल्ली प्रहरीका अनुसार जनवरीदेखि मार्चसम्म अपरेशन सञ्चालन गरिएको थियो। पक्राउ परेका व्यक्तिहरूबाट गोप्य कागजातहरू बरामद गरेको उल्लेख गरिएको छ।

पक्राउ पर्नेमा अन्सरूल मियाँ अन्सारी छन्। उनी नेपाली नागरिक भएको समाचारमा उल्लेख छ।

दिल्ली प्रहरीले उनीसहित अर्का व्यक्तिविरूद्ध पनि अभियोग दर्ता गरिसकेको छ। उनीहरू दुबै जना हाल तिहाड जेलमा छन्।

अन्सारी दिल्लीबाट पाकिस्तान जान लाग्दा पक्राउ परेका थिए।

उनी पाकिस्तानको गुप्तचर निकाय इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआई) आइएसआईमा संलग्न रहेको दाबी गरिएको छ। आइएसआईले उनलाई गोप्य कागजातका सिडी बनाएर पाकिस्तानमा पठाउने जिम्मेवारी दिइएको दाबी गरिएको छ।

उनीसँग सोधपुछपछि प्रहरीले अर्का व्यक्तिलाई पक्राउ गरेको थियो।

प्रहरीले पक्राउ गरेपछि उनले आफू कतारमा ट्याक्सी ड्राइभर भएको र त्यहाँ आइएसआईसँग सम्पर्कमा आएको बताएको भनेर समाचारमा उल्लेख छ। आइएसआईका एजेन्टलाई भेटेपछि तालिमका लागि अन्सारीलाई पाकिस्तान लगिएको र त्यहाँबाट नेपाल हुँदै दिल्ली पठाएको दाबी गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend