काठमाडौं, असार २४ गते । पाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताउनुभएको छ। जिम्बावेमा भएको छनोट खेलेर शुक्रबार स्वदेश फर्किएको नेपाली टोलीका प्रशिक्षक देसाईले लक्ष्य प्राप्ति नभए पनि केही खेलाडीको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गर्नुभयो।
भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुने लक्ष्यसहित जिम्बावे पुगेको नेपाली क्रिकेट टोली दोस्रो चरण (सुपर सिक्स) मा नै स्थान बनाउन असफल रह्यो। सातौं स्थानका लागि भएको अन्तिम खेलमा पनि नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँग साँघुरो अन्तर पराजित हुन पुग्यो। छनोटमा आशाअनुरूपको नतिजा नआए पनि टेस्ट खेल्ने राष्ट्रविरुद्ध खेल्दा धेरै कुरा सिक्ने अवसर मिलेको नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलको भनाइ छ।
खेल अगाडि टेस्ट राष्ट्र जिम्बाबे र वेस्ट इण्डिजले कस्तो बलिङ र ब्याटिङ गर्छ भन्ने चासो रहे पनि उनीहरू र आफूहरुबीच अनुभवको मात्र फरक रहेको कप्तान पौडेलको बुझाइ छ। नेदरल्याण्ड्स विश्वकप छनोट हुनुले नेपाल जस्तो एसोसिएट राष्ट्रलाई हामी पनि गर्नसक्छौं भन्ने प्रोत्साहन मिलेको उहाँको भनाइ छ।
नेपालका युवा अलराउण्डर गुलसन झाले टेस्ट राष्ट्र र आफूहरूबीच खासै फरक नरहेको उल्लेख गर्नुभयो। यद्यपि, उनीहरूको खेल शैली केही अनुशासित र अनुभवी रहेको उहाँको भनाइ छ। उनीहरूसँगको खेलपछि धेरै कुरा सिक्ने अवसर मिलेको गुलसनको विश्वास छ।

विश्वकप छनोटका लागि जिम्बावे पुगेको नेपाली टोलीले कुल ६ खेल खेल्दा दुई नतिजा मात्र आफ्नो पक्षमा पारेको थियो। तीन वटा टेस्ट राष्ट्र जिम्बावे, वेस्ट इण्डिज र आयरल्याण्डसँग नतिजा सुम्पिएको नेपालले विश्वकपमा छनोट भएको एक मात्र एशोसिएट राष्ट्र नेदरल्याण्डसँग पनि हार व्यहोरेको थियो। बाँकी दुई वटा एसोसिएट राष्ट्र संयुक्त अरब इमिरेट् (युएई) र अमेरिकासँग भने नेपालले जित निकाल्यो।
नेपालले केही दिन आराम गरेपछि एसिसी इमर्जिङ टिम्स एशिया कप खेल्न श्रीलंका जानेछ। एशिया कपमा नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग खेल्नेछ। नेपालको समूह ‘बी’ मा युएई पनि छ। जुलाई १४ मा पाकिस्तानविरुद्धको खेलसँगै नेपालले एशिया कपको यात्रा थाल्नेछ। यद्यपि, उक्त खेलमा नेपाली टोलीका महत्त्वपूर्ण बलर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी अनुपस्थित रहने कप्तान रोहित पौडेलले बताए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend