पब्लिक सूचना
काठमाडौं: नेपालको मौलिक परम्परा, सभ्यता, र धार्मिक संस्कारहरू पश्चिमी प्रभावका कारण गम्भीर संकटमा परेको भन्दै व्यापक बहस सुरु भएको छ। स्थानीय सांस्कृतिक अभियन्ता, परम्परागत ज्ञानमा विश्वास राख्ने समाजका विभिन्न वर्गले शिक्षामा बढ्दो पश्चिमा प्रभाव र मौलिक मूल्य मान्यता हराउँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक मञ्चहरूमा उठाइएका आवाजमा भनिएको छ, “पश्चिमीकरणको नाममा नेपाली जनताको मौलिक धर्म, संस्कृति, सभ्यता र परम्परागत ज्ञान प्रणालीलाई योजनाबद्ध रूपमा विस्थापित गरिँदैछ। आजको शिक्षाले बालबालिकाको सोच, संस्कार र दर्शनमा गहिरो हस्तक्षेप गरिरहेको छ।”
एक सक्रिय आवाजले भनेका छन्, “हिजो प्रचार माध्यमहरू — पत्रिका, रेडियो, टेलिभिजनमार्फत मानसिक उपनिवेशको बीउ रोपिएको थियो भने आज शिक्षा प्रणालीमा गहिरो हस्तक्षेप गरेर नेपाललाई पूर्णरूपमा पश्चिमी मोडलतर्फ धकेलिँदैछ।”
उनी अनुसार नेपालको पाठ्यक्रम विकासमा विदेशी NGO तथा INGOहरूको हस्तक्षेप ९९% सम्म रहेको र यसले आदिवासी, जनजातिहरूको मौलिक मूल्य, फेदाङ्बा–देवारी जस्ता परम्परागत संरचना, मुन्धुम दर्शन लगायतका मौलिक ज्ञान प्रणाली समाप्त हुने खतरा देखिएको छ।
पाठ्यक्रममा समेटिएको केही विषयवस्तुप्रति तीव्र आपत्ति जनाउँदै उनी भन्छन्, “कक्षा ७ को ‘युनिक रचनात्मक नेपाली’ पुस्तकमा समावेश केही पाठले नेपाली सभ्यता, परम्परा र धार्मिक चेतनालाई कमजोर बनाउने खालको सामग्री राखिएको छ। यसलाई यथासक्य चाँडो बहिष्कार गरिनु पर्छ।”
सामाजिक अभियानकर्ताहरू भन्छन्, शिक्षा प्रणाली नै कुनै राष्ट्रको मेरुदण्ड हो, र जब त्यसको नियन्त्रण बाह्य शक्तिले गर्छन्, तब त्यो राष्ट्र स्वतः लोप हुने दिशामा जान्छ।
यसै क्रममा उनीहरूले यस्ता पाठ्यपुस्तकहरूको बहिष्कारको आह्वान गर्दै सबै नेपाली, विशेषतः आदिवासी र भुमिपुत्र समुदायहरूलाई चेतना भर्न आग्रह गरेका छन्। “पहिचानको नाममा भाषण दिनु मात्र होइन, पहिचान बचाउन संस्कार, संस्कृति, धर्म र शिक्षा प्रणालीको रक्षा गर्नु अनिवार्य छ,” उनीहरू भन्छन्।
यस विषयमा पाठ्यक्रम विकास केन्द्र तथा शिक्षा मन्त्रालयले कुनै औपचारिक प्रतिक्रिया नदिए पनि सार्वजनिक क्षेत्रबाट बढ्दो दबाबले यसमाथि पुनर्विचार आवश्यक देखिएको छ।
#SaveOriginality #राष्ट्रपहिलो
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend