logo
  • शनिबार, असोज १७ २०८३

भारतीय ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरे


  • पब्लिक सूचना
  • सोमबार, बैशाख २९ २०८२

भारतीय ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट तत्काल प्रभावबाट सन्न्यासको घोषणा गरेका छन्।

इंग्ल्यान्डसँगको ५ टेस्ट सिरिज अघि उनले सन्न्यासको घोषणा गरेका छन्। यस अघि भारतीय टोलीका कप्तान रोहित शर्माले सन्न्यासको घोषणा गरेका थिए।

३६ वर्षीय कोहलीले भारतका लागि १ सय २३ टेस्ट खेलेका छन् । ४६.८५ को औसतले ९ हजार २ सय ३० रन बनाएका छन्।

‘मैले टेस्ट क्रिकेट खेलेको १४ वर्ष भइसकेछ,” कोहलीले सामाजिक सञ्जालमा लेखेका छन्,’ साच्चै भन्नुपर्दा, यसले मलाई कुन यात्रामा लैजाला भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ। यसले मलाई परिक्षा गर्‍यो, गढ्‍यो, र जीवनभर उपयोगी हुने पाठहरू सिकायो।’

कोहलीले भारतले सन् २०२४ को विश्वकप जितेपछि टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। तर उनी एकदिवसीय खेल जारी राख्ने अपेक्षा गरिएको छ।

२०११ मा वेस्ट इन्डिजविरुद्ध टेस्ट डेब्यु गरेपछि कोहलीले ६८ टेस्टमा कप्तानी गरे, जसमा उनले ४० खेल जितेर टेस्टमा भारतको सबैभन्दा सफल कप्तान बने।

‘सेतो पोसाकमा खेल्नु भनेको केही गहिरो व्यक्तिगत अनुभूति हो। त्यो मौन संघर्ष, लामो दिनहरू, साना क्षणहरू — जुन अरु कसैले देख्दैन तर तिमीभित्र सधैं बसिरहन्छन्,’ उनले थपे।

उनले अगाडि लेखेका छन्,’ म टेस्ट क्रिकेटबाट टाढा हुँदैछु, यो सजिलो छैन । तर सही लागिरहेको छ। मैले जे दिन सक्थेँ, सबै दिएको छु र यसले मलाई मैले अपेक्षा गरेभन्दा बढी दिएको छ।’

कोहलीले सबैलाई धन्यवाद दिएका छन्। ‘ म कृतज्ञताको भावनासहित विदा हुँदैछु — खेलप्रति, मसँग मैदान बाँडेका सबैप्रति र प्रत्येक त्यस्ता व्यक्तिप्रति जसले मलाई यो यात्रा महसुस गराए। म मेरो टेस्ट करिअरलाई सधैं मुस्कानसहित सम्झिनेछु।’

कोहलीलाई उनको युगका चार महान ब्याटरमध्ये इंग्ल्यान्डका जो रुट, अस्ट्रेलियाका स्टिभ स्मिथ र न्युजिल्यान्डका केन विलियमसनसँगै राखिन्छ । उनले टेस्ट क्रिकेटमा ३० शतक बनाएका छन्।

तर अष्ट्रेलियाविरुद्ध गत नोभेम्बरमा पहिलो टेस्टमा बनाएको नटआउट १ सय रन १६ महिनाका १५ इनिङपछि आएको उनको पहिलो शतक थियो ।
जनवरी २०२० यता उनले ३९ टेस्टमा मात्र ३ शतक बनाएका छन्। यस अवधिमा उनको औसत ३०.७२ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend