logo
  • शनिबार, असोज १७ २०८३

प्रधानमन्त्रीलाई फोटो उपहार


  • पब्लिक सूचना
  • बिहिबार, बैशाख २५ २०८२

भनिन्छ, ‘एउटा तस्बिरले हजारौँ शब्द बोल्छ ।’ गोरखापत्रको सङ्ग्रहालयमा त्यस्ता कैयौँ तस्बिर छन्, २०३० देखि २०६० सम्मको समय खण्डको नेपालको वास्तविकता बोकेका ।

त्यतिबेला क्यामरामा रिल लगाएर फोटो खिच्ने प्रविधि थियो । त्यस्तै एउटा तस्बिर गोरखापत्रको १२५ औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहारस्वरूप प्रदान गरिएको छ ।

२०५८ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रभावशाली नेताको जिम्मेवारीमा रहँदा उहाँको अन्तर्वार्ता गर्ने क्रममा प्रधानमन्त्री ओलीको उक्त तस्बिर खिचिएको थियो । वार्षिकोत्सवका प्रमुख अतिथि प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहमा राखिएको फोटो प्रदर्शनी अवलोकन गर्नुभयो ।

फोटो प्रदर्शनी अवलोकनका क्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र संस्थानका आर्ट तथा फोटोग्राफी प्रमुख रामप्रसाद हुमागाईंसहित संस्थानका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई उहाँकै तस्बिर प्रदान गर्नुभएको हो ।

तस्बिर प्रदान गर्दा प्रधानमन्त्री ओली मुस्कुराउनुभयो र तस्बिरबारे जिज्ञासा राख्दै अन्य तस्बिर हेर्नुभयो । कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लाखौँ ताराको बिचको चन्द्रमा जस्तै गोरखापत्र उठ्नुपर्ने बताउनुभयो । उहाँले सबै सम्पत्तिको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार २०३० सालमा पहिलो फोटो पत्रकारको जिम्मेवारीमा नियुक्त हुनुभएपछि तस्बिर सङ्कलन सुरु भएको हो । उहाँ गोरखापत्र संस्थानको महाप्रबन्धकको जिम्मेवारीमा पनि रहनुभयो । प्रमुख हुमागाईंले भन्नुभयो, “त्यसअघि दरबारदेखि दिएका र अन्य स्रोतबाट प्राप्त तस्बिर मात्रै प्रकाशित हुन्थे । अहिले हामीसँग हजारौँ तस्बिरको सङ्ग्रह छ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend