logo
  • आइतबार, असोज १८ २०८३

मन्त्री पौडेल भन्छन : भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ


  • पब्लिक सूचना
  • मंगलबार, बैशाख २३ २०८२

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भरतपुर अस्पतालमा चिकित्सा शिक्षातर्फको स्नातक तह ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगलाई  प्रस्ताव गरिएको बताएका छन् ।

आज अस्पतालमा क्याथ ल्याब, वर्न वार्ड, फर्टिलिटी क्लिनिक, स्तनपान व्यवस्थापन कक्ष,  सिमुलेसन ल्याब, बाल खेल उपचार कक्षलगायत सेवाहरू शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।    मन्त्री पौडेलले अस्पताललाई सबैखाले उपचार उपलब्ध गराउन सक्ने गरी विकसित गर्न विकास समिति, अस्पताल प्रशासन र मन्त्रालय निरन्तर लागिरहेको बताए ।

‘एमबिबीएस कार्यक्रम सञ्चालन गर्ने विषय स्वास्थ्य मन्त्रालयसँग मात्रै सम्बन्धित हुँदैन, यो चिकित्सा शिक्षा आयोगसँग पनि सम्बन्धित हुन्छ । यहाँ एमबिबीएस कार्यक्रम सञ्चालन गर्न अघिल्लो वर्ष नै हामीले पर्याप्त छलफल गरेका थियौँ । स्वास्थ्य मन्त्रालयको आन्तरिक बजेटबाट कार्यक्रम सञ्चालन गर्ने कुरा अगाडि बढाइए पनि आयोगबाट स्वीकृत हुन सकेको स्थिति छैन’, उनले भने ।

मन्त्री पौडेलले भरतपुर अस्पताल प्रतिष्ठान नभएका कारण शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिएको उल्लेख गरे । उनले थपे, ‘स्वास्थ्य मन्त्रालयले त कसरी छिटो कार्यक्रम सञ्चालन गर्न सकिन्छ भनेर आन्तरिक कोषहरूबाटै रकम व्यवस्था गरेर अगाडि जान खोजेका छौँ । यसै वर्ष अस्पताल विकास समिति र मन्त्रालयकोे साझेदारीमा कार्यक्रम सञ्चालनको पहल गर्छौं ।’

अस्पताल व्यवस्थित नभएसम्म देशको स्वास्थ्य सेवा सुधारिएको महसुस हुन नसक्ने भन्दै  मन्त्री पौडेलले सेवा सुधारका लागि जनशक्ति  विकास गर्न छुट्टै स्वास्थ्य सेवा ऐन जारी भएकोे बताए । उनले सरकारी अस्पतालमा सेवाग्राहीको आकर्षणलाई व्यवस्थित गरेर जानुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले अबको शैक्षिक सत्रबाट एमबिबीएस कार्यक्रम सञ्चालन गर्नका लागि पहल गर्नुपर्ने बताए । कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल, अस्पताल विकास समिति अध्यक्ष राजु पौडेललगायत सम्बोधन गरेका थिए ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend