पब्लिक सूचना
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले सरकारले खेल क्षेत्रमा हुकुमी र निरंकुश शैलीमा हस्तक्षेप गरिरहेको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसद बस्नेतले ओलम्पिक कमिटीमा लगायत आधा दर्जन खेलकुद संघहरूमा सरकारले हस्तक्षेप गरेको बताएका हुन्।
‘ओलम्पिक कमिटीमा अनुचित हस्तक्षेप गरिराखेको छ। ब्याडमिन्टन लगायत आधा दर्जन बढी खेलकुद संघहरूलाई बिघटन गर्ने चेष्टा गरिरहेको छ। बोर्ड सदस्यलाई जबर्जस्ती बर्खास्त गर्ने कोशिस गरियो,’ उनले भने।
सांसद बस्नेतले दसौं राष्ट्रिय खेलकुद पनि सरकारका कारण अन्योलमा परेको बताए। ‘प्रधानमन्त्रीले पानीको कारणले हुन नसकेको भनेर स्पष्टीकरण दिएर झुटको पातलो पर्दा लगाइदिनुभएको छ,’ उनले भने। अघिल्लो सरकारले मंसिरमै दसौं राष्ट्रिय खेलकुद हुने तय भए पनि साउनमा बनेको नयाँ सरकारले मंसिरमा परिषदको बैठक बोलाएर चैतमा सारिएको बताए।
‘सरकार साउन महिनामा बन्यो एकैपटक मंसिर महिनामा खेलकुद परिषदको बैठक बसेर चैतमा सार्ने निर्णय गर्यो। फेरि चैतमा बैठक बसेर जेठमा सार्न खोजियो। विभिन्न बहानामा जेठबाट पनि सार्ने कुरा गर्दैछ,’ उनले भने।
यसले समग्र खेल जगतलाई स्तब्ध बनाएको उनले बताए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend