पब्लिक सूचना
सारा विश्वसँग भन्सार युद्ध सुरू गरेर सबैलाई चिढ्याएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भने चीनसँगको व्यापार युद्धमा अरूको साथ खोज्ने अभियानमा लागेका छन्।
ट्रम्पले अप्रिल २ मा सबै देशलाई १० प्रतिशत भन्सार महसुल र प्रतिस्पर्धीहरूलाई उच्च रेसिप्रोकल महसुल लगाउने घोषणा गरेका थिए। उनले आठ वटा देशलाई ४० प्रतिशतभन्दा बढी भन्सार लगाउने घोषणा गरेका थिए। मुख्य प्रतिस्पर्धी चीनलाई ३४ र भारतलाई २७ प्रतिशत भन्सार तोकेका थिए। अमेरिकासँग घनिष्ठ सम्बन्ध भएको युरोपियन युनियनलाई पनि २० प्रतिशत भन्सार लगाएका थिए।
चीनलाई लगाएको भन्सार दर पटक-पटक बढाए पनि ट्रम्पले ७० भन्दा बढी देशहरूलाई लगाएको पारस्परिक भन्सार भने ९० दिनका लागि रोकेका छन्। ती देशहरूले अमेरिकी कर नीतिको विरोध नजनाएको, जबाफी भन्सार नलगाएको र छलफलका लागि तयार रहेको देखिएको भन्दै रेसिप्रोकल भन्सार रोकेर उनले सबै देशलाई विश्वव्यापी १० प्रतिशत भन्सार दर मात्रै लगाएका छन्।
पटक-पटक अमेरिका र चीनले जबाफी कदम चालेर थप महसुल लगाएका कारण ट्रम्पको दोस्रो कार्यकालमा चिनियाँ वस्तुमा लगाएको भन्सार महसुल बढेर १४५ प्रतिशत पुगेको छ। चीनले पनि जबाफमा अमेरिकी उत्पादनमा १२५ प्रतिशत भन्सार महसुल लगाएको छ।
ट्रम्पले त्यसपछि चीनबाट आयात हुने स्मार्टफोन लगायत इलेक्ट्रोनिक्स सामानहरूमा रेसिप्रोकल (पारस्परिक) भन्सार दर नलगाउने भनेका छन्। तर इलेक्ट्रोनिक्स सामानमा दिएको छुट पनि अल्पकालीन मानिन्छ। यसरी अमेरिका र चीनबीच सारा व्यापार नै रोकिने गरी व्यापार युद्ध सुरू भएको छ।
यस्तोमा चीनसँगको व्यापार युद्ध जित्न अमेरिकालाई अरू देशहरूको साथ पनि चाहिन्छ। त्यसैले सुरूमा सारा विश्वसँग भन्सार युद्ध सुरू गरेका ट्रम्प अहिले चीनविरूद्ध मोर्चाबन्दी गर्न अरू देशलाई फकाउने प्रयासमा लागेका छन्।
यस्तोमा भारतीय मूलकी श्रीमती भएका उपराष्ट्रपति जे डी भान्सलाई अहिले भारत भ्रमणमा पठाएका छन्। भान्स उनकी भारतीय मूलकी पत्नी उषा भान्स र उनीहरूका तीन छोराछोरी अहिले चार दिने भ्रमणका लागि भारतमा छन्।
भान्सका छोराछोरी भारत आउँदा भारतीय पोशाकमा सजिएर आएका थिए। उनीहरूसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भान्सका दुई छोरा र एक छोरीलाई मयूरको प्वाँख उपहार दिए।
भारतलाई भन्सारको राजा भन्ने ट्रम्पले अहिले चीनविरूद्ध साथ खोज्दै भान्सलाई भारतको भ्रमणमा पठाएको मानिन्छ।
मोदीसँग सोमबार भएको भेटमा भान्सले व्यापारबारे पनि कुरा गरेका थिए। तर त्योभन्दा पनि बढी उनले अमेरिका भारतसँग राम्रो सम्बन्ध चाहन्छ भनेर आश्वस्त पार्न खोजेको भनेर विभिन्न पश्चिमा मिडियाले लेखेका छन्।
व्यापारसम्बन्धी कुरा त यसै हप्ता वासिङ्टनमा भारत र अमेरिकाबीच द्विपक्षीय वार्तामा दुई देशका अधिकारीले गर्नेछन्। तर भान्स भने मुख्यतः भर्खरै चीनसँग सम्बन्ध सुधार गर्ने क्रममा रहेको भारतलाई चीनविरूद्धको मोर्चाबन्दीमा ल्याउनका लागि भारत भ्रमणमा गएको मानिन्छ।
त्यही बुझैरै होला सायद भान्स भारत पुगेकै दिन चीनले आफ्नाविरूद्ध अमेरिकासँग व्यापारिक सम्झौता नगर्न भनेर सबै देशलाई चेतावनी दिएको छ। चीनको स्वार्थ विपरीत सम्झौता गरे दृढतापूर्वक जबाफी कदम चाल्ने धम्की पनि दिएको छ।
अमेरिकाले चीनलाई एक्ल्याउने तयारी गरिरहेको भनेर समाचारहरू आइरहेको बेला चीनको वाणिज्य मन्त्रालयले त्यस्तो प्रतिक्रिया दिएको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend