पब्लिक सूचना
बलिउडका अभिनेता सनी देओलको बहुप्रतिक्षित फिल्म जाट’ हालै सिनेमाघरमा रिलिज भएको छ। सिनेमा प्रेमीहरूले फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन्। फिल्मको कथा र सनी देओलको जाट चरित्रलाई धेरै मन पराइएको छ। खलनायकको भूमिकामा रणदीप हुड्डाले पनि प्रशंसनीय काम गरेका छन्। फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरे पनि, फिल्मको एक दृश्यलाई लिएर अचानक विवाद उत्पन्न भयो।
यो दृश्यमा रणदीप हुड्डा चर्चको क्रूसमुनि गएर उभिन्छन्। जहाँ प्रार्थना गरिरहेका मानिसहरू उनलाई देखेपछि डराउँछन्। यो दृश्यलाई क्रिश्चियन समुदायका मानिसहरूले अपमानजनक ठाने। यसमाथि ठुलै हंगामा नै भयो । फिल्म जाट’ मा चर्चको दृश्यको विवाद बढेपछि निर्माताहरूले माफी माग्दै विज्ञप्ति जारी गरेका छन्। इन्डिया टुडेको रिपोर्ट अनुसार, निर्माताहरूले चलचित्रबाट विवादास्पद दृश्य हटाएका छन्।
यस दृश्यको बारेमा स्पष्टीकरण दिँदै निर्माताहरूले आफ्नो बयानमा भनेका छन्, ‘हाम्रो उद्देश्य कसैको धार्मिक भावनामा चोट पुर्याउनु थिएन। हामी यसप्रति दु:खी छौँ र यस विषयमा तुरुन्तै कारबाही गरेका छौँ र विवादास्पद दृश्य हटाएका छौँ। यो कसैको धार्मिक भावनामा चोट पुर्याउने उद्देश्यले गरिएको थिएन। ज(जसको भावनामा चोट पुगेको छ, हामी उनीहरूसँग माफी चाहन्छौँ।’
यस विवादका कारण, सनी देओल, रणदीप हुड्डा, निर्देशक गोपीचन्द मालिनेनी र फिल्मका निर्माताहरूविरुद्ध पञ्जाबको जालन्धरमा एफआईआर दर्ता गरिएको छ। एफआईआर भारतीय न्याय संहिताको धारा २९९ अन्तर्गत दर्ता गरिएको छ, जुन कसैलाई हानि पुर्याउने उद्देश्यले गरिएको कार्यसँग सम्बन्धित छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend