logo
  • आइतबार, असोज १८ २०८३

विद्यालय शिक्षा ऐनको मागमा निर्णायक आन्दोलन, शिक्षण संस्थाहरू बन्द गर्न प्याब्सन–एनप्याब्सनलाई आग्रह


  • पब्लिक सूचना
  • मंगलबार, बैशाख २ २०८२

आन्दोलनरत नेपाल शिक्षक महासंघले वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा संलग्न नहुन केन्द्राध्यक्ष, निरीक्षक लगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ।

महासंघले सोमबार विज्ञप्तिमार्फत् चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन जारी रहेको भन्दै यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन भनेको छ।

‘२०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरुमा अपील गर्दछौं। शीघ्रातीशीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिनुहुन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति गाउँ/नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्ष समक्ष अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

नेपाल शिक्षक महासंघ २०८१ माघ २० गतेबाट निरन्तर आन्दोलनमा रहेको यसैक्रममा २०८१ चैत्र २० गतेबाट काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन चलिरहेको पनि महासंघगले अवगत गराएको छ।

‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन हो। यो आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको कुरा विदितै छ। त्यसैले देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आउनुहुन हामी सबै प्रधानाध्यापक, शिक्षक–कर्मचारी साथीहरूलाई आग्रह गर्दछौं,’ महासंघले भनेको छ।

यसैगरी अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने पावन उद्देश्यबाट गरिएको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्न संस्थागत विद्यालयहरूलाई समेत आग्रह गरिएको छ।

संस्थागत विद्यालयहरूसमेत बन्द गरिदिई आन्दोलनलाई सघाउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई पनि आग्रह गरिएको छ।

यसैबीच नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षक अगुवासँग छलफल थालेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपानमा मंगलबार महामन्त्रीद्वय थापा र शर्माले शिक्षक महासंघका पदाधिकारीलगायत अगुवाहरूसँग छलफल गरेका छन्।

शिक्षकहरूको मागबारे महामन्त्रीद्वयले पहलकदमी लिने गरी छलफल भएको केन्द्रीय कार्यालयले बताएको छ।

शिक्षकहरूको माग पूरा गर्न कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै आएका छन्।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend