कञ्चनजंघा क्षेत्रमा वस्तुभाउलाई जंगली जनावरले मार्ने गरेको स्थानीय बासिन्दाले बताउने गरेका थिए, तर केले बस्तुभाउ खायो थाहा थिएन। सन् २०१० मा गरिएको अध्ययनका क्रममा ‘क्यामरा ट्रयापिङ’मा जंगली कुकुर देखियो। पछि जंगली कुकुरको दिशाको अध्ययन गर्दा त्यसमा २२ प्रतिशत वस्तुभाउको अंश देखियो।
अनुसन्धाता अम्बिकाप्रसाद खतिवडाको नेतृत्वमा गरिएको त्यो अध्ययन जंगली कुकुरबारे नेपालमा भएको पहिलो वैज्ञानिक अध्ययन थियो। जसले तीन हजार आठ सय मिटरको उचाइमा जंगली कुकुर पाइएको पुष्टि पनि गरेको थियो। त्यहि जंगली कुकुर अहिले संकटमा परेको छ।
अहिले नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार बाघको संख्या बढाउने काममा सफलता पाएको छ। बाघको संख्या बढ्दा शिकारका लागि जंगली कुकुरसँग प्रतिस्पर्धा हुन्छ। “शायद त्यसको असरले पनि होला, पर्सा क्षेत्रमा जंगली कुकुर विस्तारै बाहिर आउन थालेका छन्,” खतिवडा भन्छन्, “यसबारे पनि विस्तृत अध्ययन गर्नुपर्ने देखिन्छ।”
जंगली कुकुरबारे केही अध्ययन चितवन, पर्सा क्षेत्रमा भएका छन्। स्मृति लामा, तृष्णा रायमाझी, सुजन खनाल लगायतले यस प्रजातिको अध्ययनलाई अघि बढाइरहेका छन्।
गोठालाले आफ्नो वस्तुभाउ खाइदिएको रिसको झोकमा विष हाल्ने गरेकाले पनि यसको संख्या घट्दै गइएको छ। अझ जंगली कुकुरको संख्या थोरै तर छरिएर रहेकाले कुनै रोगव्याधीले सकिने हुन् कि भन्ने डर सधैं रहिरहेको अमेरिकाको कोर्नेल विश्वविद्यालयका भेटेरिनेरियन मार्टिन गिल्बर्ट बताउँछन्। नेपालमा पनि संरक्षण अनुसन्धान गरिरहेका गिल्बर्ट भन्छन्, “यो नेपाल-भारत सीमामा आउजाउ गरिरहने हुँदा पनि अन्तरदेशीय संरक्षण कार्यक्रम बनाएर अघि बढ्नुपर्ने देखिन्छ।”
विश्वमै प्रभावकारी संरक्षणको नमुना पेश गरेको नेपालमा केही प्राणी प्रजाति भने संरक्षण छाताबाट बाहिर परेका छन्। तीमध्ये जंगली कुकुर पनि एक हो। नेपालमा दुई सयभन्दा कमको संख्यामा रहेको जंगली कुकुर बचाउन संरक्षण कार्यक्रम शुरू गर्न ढिलाई गर्न नहुने विज्ञहरू बताउँछन्।
कहाँ पाइन्छ जंगली कुकुर?
जंगली कुकुर एशिया महादेशको रैथाने प्रजाति हो। विज्ञहरूका अनुसार परापूर्वकालमा एशिया, युरोप र उत्तरी अमेरिकासम्म फैलिएको थियो। तर, विकास क्रममा यो एशियामा मात्र सीमित हुन पुग्यो। पहिलो पटक सन् १७९४ मा यात्री पेस्टेरेफले यसको उल्लेख गरेको पाइन्छ। उनले सुदूर पूर्वी रुसको यात्रा क्रममा जंगली कुकुर देखेको र यसलाई ‘प्याक हन्टर’ उल्लेख गरी सुनौलो स्यालसँग तुलना गरेका थिए।
जंगली कुकुर दक्षिण पूर्वी एशियाको नेपाल, भुटान, बाङ्लादेश, चीन, मलेशिया, म्यानमार, इन्डोनेशिया, लाओस, कम्बोडिया, थाइल्यान्ड गरी ११ वटा मुलुकमा पाइन्छ। जहाँ-जहाँ यो पाइन्छ, त्यो देशमा एक ठाउँमा २५० भन्दा कमको समूहमै मात्र सीमित छ। विश्वभरी यसको संख्या दुई हजार पाँच सयभन्दा कम रहेको अनुमान छ।
हाल जंगली कुकुरको सबैभन्दा ठूलो संख्या भारतमा छ। चीन र भुटानमा पनि जंगली कुकुर उल्लेख्य संख्यामा पाइन्छ। समूहमा हुने हुँदा बाघ, चितुवाले समेत आक्रमण गर्दैनन्। यो दुर्लभ प्राणी मानिन्छ र देख्नै मुस्किल पर्छ। वन क्षेत्रका आसपासका वस्तीका वासिन्दाले भने यसलाई यदाकदा देखेको पाइन्छ।
यो जंगली कुकुर पाइने मुलुकमै पनि यसबारे धेरै जानकारी उपलब्ध छैन। त्यसकारण पहिला त यसबारे धेरै भन्दा धेरै जानकारी उपलब्ध हुने वातावरण बनाउनुपर्ने विज्ञहरू बताउँछन्।
कस्तो हुन्छ जंगली कुकुर?
ठूलो गोलाकार कान, कालै थुतुनो हुने जंगली कुकुरको शरीरको रंग खैरो हुन्छ। यसको शरीर फूर्तिलो हुन्छ भने पुच्छर झुप्प परेको हुन्छ, पुच्छरको अन्तिम भाग कालो हुन्छ। छोटा खुट्टा भएको यो मजाले दौडन र पौडन सक्छ।
वैज्ञानिक नाम ‘क्युन अल्पाइनस’ र अंग्रेजी ‘ढोल’ वा ‘एशियन वाइल्ड डग’ भनेर चिनिने यसको उचाइ १७ इन्चसम्म हुन्छ भने लम्बाइ तीन फिटसम्म हुन्छ। सामान्यता पानीको स्रोत नजिकको गुफा, चट्टानी कापमुनी बस्ने गर्छ। यसको आयु १५-१६ वर्षसम्म हुन्छ।
प्रायः पाँचदेखि १० वटाको समूहमा रहने जंगली कुकुर आफूभन्दा दश गुणा ठूला जनावरको पनि सिकार गर्नसक्छ। ब्वाँसाले जस्तो यसले मानिसलाई भने आक्रमण गरेको पाइएको छैन। यी प्राणी सिकार गर्न माहिर हुन्छन्। आफ्नो सिकारलाई लखेटेर हमला गर्छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend