बाहिरी संरचना माटोको ढिस्कोजस्तो देखिने हुनाले पुरानो घरजस्तो देखिन्छ सक्छ। भित्र पसेपछि भने तपाईंलाई फरक अनुभूति हुनेछ। प्रवेशद्वारबाट भित्र पसेपछि देब्रेपट्टि पढ्न पाइनेछ ‘अतिथि देवो भवः’। पूर्वीय दर्शनले पाहुनालाई भगवानजस्तै मान्ने भएकाले ‘अतिथि देवो भवः’ लेखेको कम्पनीका निर्देशक कृष्ण ज्ञवालीको भनाइ छ।
झट्ट हेर्दा जंगलमा कमिलाले बनाएको माटोको थुप्रोजस्तो देखिने रिसोर्टको बाहिरी भित्तामा कमिला आफ्नो घर जाँदै गरेको जस्तो चित्र कोरिएको छ। माटोको ढिस्कोजस्तो देखिए पनि त्यो माटोकै चाहिँ होइन। त्यसमा छड र सिमेन्ट प्रयोग भएको छ। भित्री संरचनामा काठ प्रयोग गरिएको छ।
‘आधुनिक कच्चा पदार्थबाट परम्परागत संरचना बनाउन खोजेको हो,’ कृष्णले भने, ‘बाहिर काठ टिकाउ नहुने भएकाले भित्र मात्रै प्रयोग गरेका छौं।’
उनका अनुसार केही पाहुनाले इजिप्टको मुगल शैलीको झल्को पाएको प्रतिक्रिया दिने गरेका छन्। तर इजिप्टको शैली होइन आधुनिक नेपाली शैलीमा रिसोर्ट बनाएको उनले बताए।
‘नेपाली परम्परागत शैलीको माटोको घरजस्तो देखाउने प्रयास हो,’ उनले भने।

आगन्तुक ७२ रोपनी क्षेत्रफलमा फैलिएको छ। आठ वटा भवनमा रिसेप्सन, बैंक्वेट, सभाहल, कोठाहरू, फिटनेस सेन्टर लगायत अटाएको छ। स्विमिङ पुल र पार्किङ सुविधा भइहाल्यो।
कुल ५२ वटा कोठामध्ये आठवटा डिलक्स, स्विट र अपार्टमेन्ट दुई–दुई वटा र ४० वटा प्रिमियम छन्।
प्रिमियममा दुइटा बेड र बरन्डा हुन्छ। डिलक्समा बरन्डा छैन। व्यक्तिगत वा संस्थागत गोपनीयता खोज्नेका लागि यसप्रकारको डिलक्स कोठा डिजाइन गरिएको कृष्णले बताए। अपार्टमेन्टमा दुइटा बेडरूम र केही खुला ठाउँ छ।
केही दिन बस्न आउने ग्राहकको आवश्यकता ध्यानमा राखेर अपार्टमेन्ट डिजाइन गरिएको हो। यहाँ आफैं पनि पकाएर खान पाउने सुविधा छ। खाद्य सामग्री ग्राहक आफैंले ल्याउन सक्छन्। रिसोर्टबाटै लिए पनि हुन्छ।
स्विट रूम भिआइपीका लागि डिजाइन गरिएको छ। यसमा भित्र र बाहिरपट्टि एक/एक वटा बेड छ। बाहिर सुरक्षाकर्मी बस्न मिल्छ।
कोठाहरूको फरक वर्गीकरण भए पनि सुविधा करिब मिल्दोजुल्दो भएको कृष्णले बताए। यी कोठामा बस्न एक रातको कम्तीमा आठ हजारदेखि बढीमा १७ हजार रूपैयाँसम्म लाग्छ।

यसबाहेक रिसोर्टमा बैठक, तालिम, सेमिनार विवाह, पास्नी, ब्रतबन्ध लगायत शुभकार्य गर्न पाउने सुविधा छ। साना र ठूला गरी चारवटा हल छन्। दुइटा साना हलमध्ये एउटामा ८० जना र अर्कोमा १५० जना अटाउने क्षमता छ। ठूला हलमध्ये एउटामा २५० जना र अर्कोमा ३५० जना अटाउँछन्।
रिसोर्टमा रेस्टुरेन्ट र बैंक्वेटका लागि दुइटा भान्सा छन्। भारतीय, नेपाली स्थानीय, चिनियाँ र कन्टिनेन्टल खाना पाइन्छ।
‘हाम्रो खाना राम्रो भएकाले अरू होटलमा बसेका ग्राहक पनि खान आउँछन्,’ कृष्णको भनाइ छ।
बैंक्वेट किचनमा सेफको सहयोग लिएर ग्राहक आफैंले खाना पकाउन पनि सक्छन्।
यहाँको अर्को विशेषता ठूलो ‘वाटर गार्डेन’ हो। त्यस्तै प्रत्येक शनिबार अपराह्न ४ बजेदेखि राति ९ बजेसम्म लाइभ म्युजिक सुविधा छ। यसका लागि अतिरिक्त रकम तिर्नुपर्दैन। यहाँ बालबालिका खेल्ने ठाउँ पनि छ।
कृष्णका अनुसार हालसम्म रिसोर्टका मुख्य ग्राहक आन्तरिक नै छन्। आगामी दिनमा बाह्य पर्यटक आकर्षित गर्न काम भइरहेको छ। कम्तीमा ४० प्रतिशत विदेशी ग्राहक पुर्याउने योजना छ।
धुलिखेलमा बाह्य पर्यटक भित्र्याउन पर्यटन बोर्डले पनि काम गर्नुपर्ने उनको भनाइ छ।
‘धुलिखेल भन्नेबित्तिकै नेपाली पर्यटक जाने ठाउँ भन्ने धारणा छ। बोर्डले पनि विदेशमा धुलिखेल चिनाउन सकेको छैन,’ उनले भने।
धुलिखेललाई बाह्य पर्यटकको स्थलका रूपमा चिनाउन राम्रो रिसोर्ट खोलेको उनी बताउँछन्। विदेशी पर्यटक खेतका फाँट, हिमालका दृश्य, तालतलैया, अग्ला पहाड हेर्न नेपाल आउँछन्। आगन्तुक रिसोर्टबाट यस्ता धेरै दृश्य देख्न सकिने उनको भनाइ छ।
आगन्तुकले चारतारे होटलको मान्यता पाएको छ। आगामी दिनमा पाँचतारेमा जाने योजना छ।
आगन्तुक रिसोर्ट खुलेको तीन वर्ष भयो। तर कोरोना र आर्थिक मन्दीका कारण राम्ररी सञ्चालन गर्नै नपाएको कम्पनीकी अध्यक्ष सरस्वती ज्ञवाली बताउँछिन्।

उनका अनुसार सन् २०१९ डिसेम्बरमा खुला गरिएको रिसोर्ट ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरेर तयार गरिएको थियो। तर सञ्चालन भएको तीन महिना नपुग्दै कोरोना फैलियो। त्यो समय रिसोर्टमा ५० जना कर्मचारी थिए। भविष्य सोचेर कर्मचारी कटौती गरिएन।
कोरोनाकै कारण एक जना लगानीकर्ता साथीसमेत गुमाउनु परेको सरस्वतीले बताइन्।
विभिन्न बाधा र अप्रिय घटनाबाट गुज्रिएर एक वर्षअघिदेखि भने आगन्तुक रिसोर्ट पूर्ण रूपमा चलिरहेको छ। अहिले रिसोर्टमा जग्गाबाहेक चार जनाको एक अर्ब रूपैयाँ लगानी छ।


© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend