logo
  • शनिबार, असोज १७ २०८३

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू हुदै, कहिले हुनेछ त कार्यान्वयन?


  • पब्लिक सूचना
  • आइतबार, माघ २७ २०८१

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायर्ड) प्रणाली लागू भए पनि कार्यान्वयनमा आउन सकेको छैन।

विमानस्थलमा यसअघि नै उपकरणमा आधारित उडान–अवतरण प्रणाली आइएलएस (इन्स्ट्रूमेन्टल ल्यान्डिङ सिस्टम) जडान भएको थियो। तर भारतले अनुमति नदिँदा प्रयोगमा आउन सकेको छैन। यसले गर्दा हिँउँदमा लाग्ने बाक्लो हुस्सु र कुहिरोले जहाज उडान–अवतरणमा समस्या हुँदै आएको थियो।

बाक्लो हुस्सु तथा कुहिरोका कारण विमानस्थलको भिजिबिलिटी कम भएपछि अन्तर्राष्ट्रिय उडानहरू अन्यत्र डाइभर्ट हुँदै आएका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसैको विकल्पमा भू–उपग्रहमा आधारित आरएनपी–एआर प्रणाली लागू गरेको हो। यो प्रणाली विश्वका धेरै देशका विमान र विमास्थलहरूमा प्रयोग भइसकेको छ।

International flights stopped at Bhairahawa due to lack of 'business' -  myRepublica - The New York Times Partner, Latest news of Nepal in English,  Latest News Articles | Republica

भैरहवा विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले गत माघ १० गतेदेखि आरएनपी–एआर प्रविधि लागू भए पनि प्रयोगमा अझै आउन नसकेको बताए।

‘प्राधिकरणको तर्फबाट गर्नुपर्ने काम सम्पन्न भएको छ। अब एयरलाइन्सले चासो दिएर म यो प्रविधि प्रयोग गरेर जहाज अवतरण गर्छु भनेर नियामक निकायबाट अनुमति लिनुपर्छ। जसले यो विधिबाट अवतरण गर्न चाहन्छ, उसले अनुमति लिएर त्यो प्रविधि भएको जहाज यहाँ ल्याउनुपर्छ। पाइलटलाई तालिम दिनुपर्छ। तर अहिलेसम्म म यो प्रविधि प्रयोग गर्छु भनेर कसैले भनेको छैन,’ तिवारीले भने।

अहिले विमानस्थलमा यान्त्रिक प्रविधिमार्फत् जहाज उडान–अवतरण हुँदै आएका छन्। यान्त्रिक प्रविधिमार्फत उडान अवतरण गर्दा कम्तीमा एक हजार ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। तर आरएनपी–एआर प्रणालीको प्रयोग गर्दा न्यूनतम ९ सय मिटर भिजिबिलिटीमै जहाज सहज रूपमा उडान–अवतरण गर्न सक्छ।

‘यो प्रविधि प्रयोगपछि भिजिबिलिटी कम भएको बेला पाइलटले ककपिटको डिस्प्लेमा हेरेर म विमानस्थलबाट कति टाढा छु, कुन दिशा, कुन कोणमा छु भन्ने थाहा पाउन सक्छ,’ तिवारीले भने, ‘जहाज रनवेको केन्द्रीय रेखासँग मिलाएर अवतरण गर्नुपर्छ। तर जहाज कहिलेकाहीँ दायाँबायाँ जान सक्छ। यो विधिबाट अवतरण गर्दा जहाजलाई रनवे बाहिर जान दिँदैन। बाहिर जाने बित्तिकै अलर्ट गरिहाल्छ। त्यसैले धेरै सुरक्षित छ।’भू–उपग्रहमा आधारित यो प्रणालीबाट भिजिबिलिटीका कारण उडान–अवतरणमा आइरहने अवरोध हटाउने विश्वास गरिएको छ। तर यसका लागि विमान, पाइलटदेखि एटिसीका कर्मचारीसम्मले निश्चित मापदण्ड पूरा गरी तालिम लिनुपर्छ। तालिमप्राप्त पाइलटले विमानमा भएको प्रविधि प्रयोग र परीक्षण गरी  प्रमाणीकरण गर्नुपर्छ। यो विधिबाट उडान गर्न चाहने अन्तर्राष्ट्रिय वायुसेवाले पहिले आफ्नो देशको नियामक निकायबाट अनुमति लिनुपर्छ । त्यसपछि नेपालको नियामक निकाय उड्डयन प्राधिकरणबाट प्रमाणीकरण लिनुपर्छ।

आरएनपी–एआर प्रणालीका लागि जमिनमा कुनै भौतिक पूर्वाधार बनाउनुपर्दैन। आवश्यक पूर्वाधार जहाजमै हुन्छ। अन्तर्राष्ट्रिय उडान गर्ने ठूला जहाजमा भू–उपग्रहमा आधारित प्रणाली पहिल्यै जडित हुन्छ। आन्तरिक उडान गर्ने साना जहाजमा भने जडान गर्नुपर्ने हुन्छ।

अहिलेसम्म यसमा चासो दिने भने एकदमै थोरै छन्। तर भैरहवामा विगतमा उडान गरेका र अब गर्न इच्छुक कतिपय जहाजमा यो प्रविधि भएकाले सहज हुने तिवारीले बताए।

‘फ्लाई दुबईले चासो दिएर अनुमति लिने प्रक्रिया अगाडि बढाएको छ, एयर जजिराले पनि चासो दिएको छ। यी एयरलाइन्समा यो प्रविधि पहिल्यै जडान भएकाले चासो दिएका हुन सक्छन्,’ तिवारीले भने।

New Bhairahawa airport is ready, but airlines are not

यो प्रविधि कुनै उपकरण नभएर विधि र रूटको चार्ट भएको र प्राधिकरणले तयार गरिदिएकाले अब एयरलाइन्सहरूले यसमा चासो दिनुपर्ने उनी बताउँछन्।

हिउँदमा भिजिबिलिटी कम भएको र पहिल्यै जडित आइएलएस प्रविधि समेत प्रयोगमा नआएको भन्दै एयरलाइन्सहरूले भैरहवामा उडान बन्द गरेका थिए। अहिले साँझ–बिहान हुस्सु र कुहिरो कम भएपछि फेरि उडान थालेका विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।

हाल जजिरा, थाई एयर एसिया, फ्लाई दुबई र नेपाल एयरलाइन्सले नियमित उडान गरिरहेका छन्।

थाई एयर एसियाले सातामा सोमबार र बिहीबार बैंकक–भैरहवा उडान गर्दै आएको छ। जजिराले सातामा मंगलबार, बिहीबार र शनिवार कुबेत–भैरहवा उडान गर्दै आएको छ। फ्लाई दुबईले दैनिक रूपमा दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्दै आएको छ। त्यस्तै नेपाल एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान गरिरहेको छ।

अहिले गौतमबुद्ध विमानस्थलबाट चार वटा एयरलाइन्सले सातामा १६ उडान गर्दै आएका छन्।

यसअघि दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्दै आएको कतार एयरवेजले भने पुनः उडान गरेको छैन।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend