पब्लिक सूचना
जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको आफ्नो पहिलो खेलमा मयन यादवको शतकका बाबजुद मधेश प्रदेशले बागमती प्रदेशसँग बराबरी खेलेको छ ।
जनकपुरमा सोमवार सकिएको मधेश र बागमतीबिचको खेल बराबरीमा टुंगिएको हो । १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ६ विकेट गुमाएर ९७ रन मात्र जोडेपछि खेल बराबरीमा सकिएको हो ।
बागमतीका लागि रित गौतमले सर्वाधिक २५ रन जोडे । उनले १८ बलमा चार चौका प्रहार गरे । शुभ कसांकार २१ बलमा २३, आशुतोष घिरैया १७ तथा प्रतिस जिसी १६ रनमा आउट भए ।

मधेशका लागि कप्तान हरिशंकर शाहले ३ तथा रञ्जित कुमार, अभिषेक तिवारी र रुपेश सिंहले समान १ विकेट लिए ।
पहिलो इनिङमा ४८ रनले पछि परेको मधेशले दोस्रो इनिङमा मयनको शतक सहयोगमा २ सय ११ रन थपेको थियो ।
मधेशका कप्तान हरिशंकर शाहले ९ विकेट गुमाएर २ सय ११ रनमा इनिङ समाप्तीको घोषणा गरेका थिए । दोस्रो इनिङमा मधेशले १ सय ६३ रनको अग्रता लिएको थियो ।
मधेशका लागि मयनले सर्वाधिक १ सय ६ रन जोडेका थिए । उनले १ सय ८ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरे । मयनले जय ट्रफी मेन्स एलिट कपको इतिहासमा नै पहिलो शतक बनाएका थिए । मयनले १ सय २ बलमा शतक पूरा गरेका थिए ।
अभिषेक तिवारी १९, निरज यादव १७ तथा विशाल पटेल र रुपेश सिंह समान १४रनमा आउट भए । बागमतीका लागि कप्तान सन्दीप लामिछानेले १७ ओभरमा ८८ रन खर्चिएर ५ विकेट हात पारे ।
पहिलो इनिङमा समेत ५ विकेट हात पारेका सन्दीप एकै खेलमा १० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ।
सूर्य तामाङले २ तथा नन्दन यादव र रिजन ढकालले समान १ विकेट लिए ।
त्यसअघि आइतवार जनकपुरमा सुरु खेलमा मधेशले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिलो इनिङ्समा मधेश प्रदेश १ सय २ रनमा अल आउट भएको हो ।
बाक्लो हुस्सु लागेका कारण करिब २ घण्टा ढिला सुरु भएको खेलमा मधेश ३५.३ ओभरमा नै अल आउट भएको हो ।
मधेशका लागि ओपनर मयन यादवले सर्वाधिक २१ रन जोडे । विशाल पटेल १६, निरज यादव १२, अभिषेक तिवारी ११ तथा हिमाशुं दत्त १० रनमा आउट भए । बागमतीका लागि कप्तान सन्दीपले १४ ओभरमा ४१ रन खर्चिएर ५ विकेट लिए ।

सूर्य तामाङले तीन तथा प्रतिश जिशी र नन्दन यादवले समान १ विकेट लिए । पहिलो इनिङ्समा बागमतीले १ सय ५० रनमा अल आउट हुँदै ४८ रनको अग्रता लिएको थियो ।
बागमतीका लागि नन्दन यादवले सर्वाधिक ४७ तथा कप्तान सन्दीप लाछिानेले ३३ रन जोडेका थिए । शुभ कसांकार ३५ रनमा आउट हुँदा रिजन ढकाल १३ रनमा नट आउट रहे । रित गौतम ३ रनमा आउट हुँदा आशुतोष घिरैयाले रनको खाता नै खोल्न सकेनन् । मधेशका लागि रुपेश सिंह र विशाल पटेलले समान १ विकेट लिए ।
खेल बराबरीमा सकिए पनि पहिलो इनिङ्समा अग्रता लिएका कारण बागमतीले नियमित सात तथा बोनसको १५ गरि जम्मा २२ अंक पाएको छ । पहिलो इनिङ्समा पछि रहेको कारण मधेशले नियमित तीन तथा बोनसको १४ गरि जम्मा १७ अंक पाएको छ ।
मधेशले दोस्रो खेलमा बुधवार वीरगंजमा विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । बागमतीले बुधवार नै जनकपुरमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend