logo
  • आइतबार, असोज १८ २०८३

यु १९ महिला विश्व कपका लागि नेपाली टोलीको घोषणा


  • पब्लिक सूचना
  • आइतबार, पुष २१ २०८१

मलेसियामा अर्को महिना आयोजना हुने यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ ।

May be an image of 1 person and text

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को आयोजनामा यु १९ महिला विश्व कप माघ ५ गते सुरु हुनेछ । माघ २० सम्म सञ्चालन हुने विश्व कपको दोस्रो संस्करणमा नेपाल सहित १६ टोलीले सहभागिता जनाउनेछन् ।

प्रतियोगिता दोस्रो संस्करणसम्म आइपुग्दा नेपालको यो पहिलो सहभागीता हो । एसिया छनोटको खेलमा युएईमाथि ८ विकेटको जितका साथ नेपाल विश्व कपका लागि छनोट भएको हो ।

कुनै पनि स्तरमा नेपाली महिला टिमले खेल्न लागेको यो पहिलो विश्व कप हो । विश्व कपमा नेपाल समूह ‘डी’ मा बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्डसँग रहेको छ । माघ ५ गते बंगलादेशविरुद्ध खेल्दै नेपालले विश्व कपमा डेब्यु गर्नेछ ।

नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्नेछ । नेपाल र स्कटल्याण्डबीचको खेल माघ ७ गते रहेको छ । नेपालले विश्व कपको समूह चरणको आफ्नो अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियाको सामना गर्नेछ ।

विश्व कपको समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् ।

समूह चरणको खेलमा शीर्ष तीनमा रहन सकेमा नेपाल सुपर सिक्सका लागि छनोट हुनेछ । सुपर सिक्सका दुई समूह हुनेछन् ।

ग्रुप १ मा समूह ‘ए’ का शीर्ष तीन राष्ट्र तथा समूह ‘डी’ का शीर्ष तीन देश रहनेछ । त्यस्तै, ग्रुप २ मा समूह ‘बी’ का शीर्ष तीन देश तथा समूह ‘सी’ का शीर्ष तीन राष्ट्र रहने छन् । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिज जस्ता मुलुकसँग खेल्ने मौका पाउने छ ।

सुपर सिक्सका दुवै ग्रुपका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । पहिलो संस्करणको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो । पहिलो संस्करणको फाइनलमा इङ्ग्ल्याण्डलाई ७ विकेटले हराउँदै भारत च्याम्पियन भएको थियो ।

नेपाली टोली

सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो(कप्तान), कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend