पब्लिक सूचना
नेपाल सरकारको परराष्ट्र सेवामा लामो समय योगदान पुर्याएकी बिन्देश्वरी शाहको निधन भएको छ। ९१ वर्षको उमेरमा बिहीबार बिहान उनको निधन भएको हो।
सन् १९३३ फेब्रुअरी १३ मा भारतको कर्सियोङमा जन्मेकी शाहले सेन्ट हेलेन्स कन्भेन्ट, कुर्सियोङबाट स्कुले शिक्षा लिएकी थिइन्। उनले अमेरिकाको बर्नार्ड कलेज, कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेकी थिइन्।
शाहले सन् १९५९ मा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा सेवा सुरू गरेकी थिइन्। उनले वासिङटन डिसी, ढाका र नयाँ दिल्लीमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेकी थिइन्। सन् १९८८ मा भारतका लागि राजदूत नियुक्त भएकी शाह नेपालकी पहिलो महिला राजदूत थिइन्।
सन् १९६६ मा उनले डा. नारायण केशरी शाहसँग विवाह गरेकी थिइन्। उनका दुई छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह छन्। अनिल शाह पूर्वबैंकर हुन्। उज्वल शाहको भने पहिले नै निधन भइसकेको छ।
शाहको निधनले नेपालको कूटनीतिक क्षेत्रमा योगदान दिने एक अनुभवी व्यक्तित्व गुमाएको छ। अन्त्येष्टि कार्यक्रम परिवारको निर्णयअनुसार गरिने जनाइएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend