पब्लिक सूचना
नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीको अब हुने ११ औं महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्।
अन्य पदहरूमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा निर्वाचनको कुनै सम्भावना नदेखिएको पौडेलको भनाइ छ। एमालेको १० औं महाधिवेशन २०७८ मंसिरमा चितवनमा भएको थियो। त्यसबेला भीम रावललाई हराउँदै ओली अध्यक्ष निर्वाचित भएका थिए।
‘अब हुने नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुनेछ। अन्य पदहरूमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन,’ राससलाई दिएको अन्तर्वार्तामा पौडेलले भनेका छन्, ‘नेकपा (एमाले) लाई मात्र होइन, सिङ्गो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूका विरुद्ध कसैले उम्मेवारी दिन्छ भन्ने मलाई लाग्दैन।’
त्यसो भए के एघारौँ महाधिवेशनपछि पनि ओली नै अध्यक्ष रहने हो, नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास छैन भन्ने प्रश्नमा पौडेलले भने, ‘प्रश्न आत्मविश्वासको होइन, प्रश्न सक्षम नेतृत्वको हो। हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले नेकपा (एमाले) लाई मात्र होइन सिङगो राष्ट्रलाई योग्यतापूर्वक नेतृत्व गरिरहनु भएको छ। उहाँको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता नेकपा (एमाले) मा छैन।’
नेतृत्व भनेको रहरको विषय नभई यो त इतिहास, योगदान, क्षमता र राष्ट्र तथा अन्तराष्ट्रमा स्वीकार्यताको विषय पनि भएको उनले बताए।
‘म स्पष्ट भाषामा भन्न चाहन्छु, एघारौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिका साथ उहाँ नै अध्यक्षमा निर्वाचित हुनुहुन्छ। यस विषयमा कोही पनि द्विविधामा रहन आवश्यक छैन,’ उनले भने।
उनले एमालेभित्र नीति र नेतृत्वको प्रश्नमा कुनै मतभेद नरहेको पनि दाबी गरे।
उनले अध्यक्ष ओलीप्रति पार्टी पङ्क्तिको उच्च सम्मान र भरोसा रहेको बताए।
‘पछिल्लो दशकमा हाम्रो पार्टीले उपलब्धि र चुनौतीका जे–जस्ता श्रृङ्खला पारगर्दै आजको यो ठाँउसम्म आइपुगेको छ। उहाँको दूरदृष्टियुक्त, सुझबुझपूर्ण र साहसिक नेतृत्व नभएको भए त्यो सम्भव हुने थिएन,’ पौडेलले भने।
उनले नेपाली कांग्रेस र नेकपा (एमाले) को बीचमा कायम भएको राजनीतिक सहयात्रा निश्चित ध्येय र उद्देश्यमा आधारित रहेको पनि बताए।
राजनीतिक स्थायित्वको बलमा संविधानको रक्षा र विकास, सबै प्रकारका अतिवाद र अस्थिरताका प्रवृत्तिहरूको अन्त्य, सामाजिक न्यायसहितको विकास र समृद्धि यो सहयात्राको मूख्य उद्देश्य रहेको उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले बताए।
‘मुलुकलाई सकारात्मक दिशामा लैजान वर्तमान प्रतिनिधिसभा भित्र खोज्न सकिने यो अन्तिम विकल्प पनि हो। कांग्रेस र एमालेको बीचमा यो सहयात्रा नहोस् भन्नेहरू निकै सक्रिय थिए। तिनको प्रयासलाई असफल पारेर यो सहयात्रा सुरु भएको हो। अब पनि कांग्रेस र एमालेको बीचमा दरार सिर्जना गर्न र यी दुई प्रमुख पार्टीलाई अलग गर्नका लागि अनेक प्रकारका कोसिस भएका छन् र भइरहने पनि छन्। तर हामीले त्यस्ता प्रयासहरूलाई परास्त गर्छौं,’ उनले भने।’
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend