पब्लिक सूचना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ ।
आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले भनेको थिएँ– यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु।’’

सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपिल गर्नुभएकाे थियाे । कार्यक्रममा विश्वका विभिन्न देश र नेपालका विभिन्न शहरमा अडिसनमा सहभागी भई झण्डै १७ देशका ५० हजारबाट छानिएका १२ जना प्रतिस्पर्धी सहभागी भएका थिए ।
कार्यक्रममा प्रतिस्प्रर्धीहरूले प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकालमा भ्रष्टाचार नियन्त्रण सुशासनका पक्षमा गरेका कार्यको प्रशंसा गरेका थिए । सो कार्यक्रमको अन्तिम प्रतियोगिता भदौमा गोदावरीमा हुने आयोजकले जनाएको छ ।

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
आज तपाईंहरू प्रतिभाशाली कलाकार भाइबहिनीहरूसँग यसरी भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ । आ–आफ्नो कला र प्रतिभा बोकेर आफ्नो मातृ तथा पितृभूमि नेपालसम्म आउनुभएका यहाँहरू सबैलाई म हार्दिक स्वागत तथा अभिवादन गर्दछु ।
तपाईहरु सबै कलाकार भाइबहिनीहरुलाई विश्वको जुनसुकै कुनामा पुगेका, रहेका भए पनि आफू रहेकै स्थानबाट आफ्नो नेपाली भाषा, पहिचान र संस्कृतिको प्रचलन, संरक्षण र प्रबर्धनमा लाग्न म विशेष आग्रह गर्दछु । विश्वका सबै देशको इतिहास र पहिचान त्यस देशको भाषा, संस्कार, संस्कृतिले नै निर्धारण गरेको हुन्छ । आफ्नो अलग्गै भाषा र संस्कृति भएका देशहरुको विश्वमा अलग्गै र उच्च अस्तित्व रहन्छ । त्यसैले विश्वमा रहेका सबै नागरिकहरूले आफ्नो भाषा र संस्कृतिको माया गरेका हुन्छन् ।
हामी नेपाली र हाम्रो नेपालको पनि विश्वमा विशिष्ट पहिचान रहेको छ । नेपालीलाई चिन्ने विविध विशेषतामध्ये हाम्रो अलौकिक, कला, भाषा, संस्कृति र सभ्यता पनि हो । विश्वको एक तिहाइभन्दा बढी जनसङ्ख्याको आस्थाका धरोहर गौतम बुद्धको जन्मस्थल तथा वैदिक सनातन धर्म र संस्कृतिको उद्गमस्थल नेपालका हामी नेपाली त्यसैले पनि विश्वका सबैभन्दा धेरै भाग्यमानी नागरिक हौँ । त्यसैले पनि विश्व मानचित्रमा हाम्रो अलग र उच्च अस्तित्व छ ।
म जोड दिएर भन्छु– हामी एक पटकको नेपाली सधैँका नेपाली हौँ । तपाई हामी सबैले हामी जहाँ, जुन अवस्थामा रहे पनि हाम्रो भाषा र संस्कृतिलाई उच्च बनाउने काममा लाग्नुपर्छ भन्ने मेरो आह्वान हो । विश्वमा छरिएर रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीमा मेरो यो आह्वान छ ।
प्रिय कलाकार भाइबहिनीहरू,
इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी तपाईं कलाकारहरूप्रति नेपाली भाषा र कलाको प्रवर्धनमा लागेको सुनेर म अत्यन्तै खुसी भएको छु । यहाँहरू आफू रहेकै देश हुँदै विभिन्न चरणमा छानिएर काठमाडौँ आई प्रतियोगिताको फाइनलसम्म पुग्न सफल हुनुभएकोमा बधाई दिँदै आगामी दिनमा यहाँहरूको सफलताको कामना गर्दछु । यसरी विश्वका प्रतिभाहरूलाई जम्मा गरेर गायन र नृत्य प्रतियोगिताको आयोजना गरी तपाई कलाकारहरूलाई नेपालसम्म ल्याइ यो भव्य कार्यक्रम सम्पन्न गर्न लागेकामा आयोजक संस्थाप्रति विशेष धन्यवादका साथ बधाइ ज्ञापन गर्दछु।
विश्वका ५२ भन्दा बढी देशमा नेपाली भाइबहिनीहरूका बीचमा प्रतियोगितामा गराएर यसरी यो तहको उपस्थिति गराई नेपाली भाषा र संस्कृतिका लागि यो माहौल सिर्जना गरेकामा आयोजक संस्था इन्ट्रा फाउन्डेसन नेपाललाई विशेष धन्यवाद दिन चाहन्छु ।
मलाई लाग्छ यस प्रतियोगितामा सहभागीमध्ये कतिपय भाइबहिनीले पहिलो पटक आफ्नो मातृ तथा पितृभूमिमा टेक्न पाएका होलान् । त्यसैले विदेशी भूमिमा रहेर पनि नेपालप्रतिको यस्तो महान कार्य सम्पन्न गरेकामा आयोजक संस्थालाई म आभार व्यक्त गर्दछु ।
यहाँहरूले पढ्नुभएकै होला, सुन्नुभएकै होला– मेरो नेतृत्वको वर्तमान सरकार फोहोरको डङ्गुर सफा गरेर भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा छ । मैले सङ्कल्प गरेको छु– जस्तोसुकै परिस्थिति आओस्, देश निर्माणको यो महाअभियानमा सरकार दृढतापूर्वक लाग्नेछ, यसमा यहाँहरूजस्ता युवा साथीहरूको बलियो साथ र सहयोग रहनेसमेत मैले विश्वास लिएको छु ।
सरकारले जसरी काम गरिरहेको छ, त्यसले भ्रष्टाचारको अन्त्य र सुशासन चाहने, जनताको जीवनमा परिवर्तन चाहनेहरू सबै उत्साहित छन् । जो देशको पक्षमा छैनन्, जनताको समृद्धि र सुशासनको पक्षमा छैनन्, उनीहरू आतंकित छन् । तसर्थ, मेरो तपाईहरूसँग विशेष अपील छ– देश निर्माण गर्ने सरकारको संकल्पमा बलियो साथ दिनुस्, यो महाअभियानको तपाईहरू पनि सारथि बन्नुस् । सबै मिले देश बनाउन सकिन्छ, हामीले बनाउनैपर्छ ।
झट्ट हेर्दा लाग्न सक्छ– राजनीतिक दल र नेताहरू सबै यस्तै हुन् । तर यथार्थ त्यो होइन । मैले पार्टी र नेताहरू यस्तै हुँदैनन् । नेपालमा आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र जसरी स्थापना भएको छ, यो साना दुःखले प्राप्त गरेको व्यवस्था होइन । यो निरङ्कुश राजतन्त्रको कालकोठरीबाट देशलाई आजको अवस्थासम्म ल्याइपुर्याउन लाखौँ नेपालीको सङ्घर्ष र पसिना परेको छ, हजारौँ सहिदले आफ्नो जीवनको बलिदान गरेका छन्, परिवर्तन चाहने लाखौँ युवाहरूले आफ्नो जीवनको उर्जाशील समय गणतन्त्रको आन्दोलनमा खर्चिएका छन् । यो हामी सबैको व्यवस्था हो, हामी सबैको सङ्घर्षबाट प्राप्त भएको व्यवस्था हो । तसर्थ, यसको रक्षा गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी पनि तपाई हाम्रो नै हो ।
तेस्रो पटक सरकारको नेतृत्व लिँदै गर्दा मैले भनेको थिएँ– यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु ।
सरकारले जसरी काम गरिरहेको छ, त्यसले भ्रष्टाचारको अन्त्य र सुशासन चाहने, जनताको जीवनमा परिवर्तन चाहनेहरू सबै उत्साहित छन् । जो देशको पक्षमा छैनन्, जनताको समृद्धि र सुशासनको पक्षमा छैनन्, उनीहरू आतङ्कित छन् । तसर्थ, मेरो तपाईहरूसँग विशेष अपिल छ– देश निर्माण गर्ने सरकारको सङ्कल्पमा बलियो साथ दिनुस्, यो महाअभियानको तपाईहरू पनि सारथि बन्नुस् । सबै मिले देश बनाउन सकिन्छ, हामीले बनाउनैपर्छ ।
अन्त्यमा, नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्बर्धन एवं प्रबर्धनका उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरूबीच यसैगरी सांस्कृतिक, भाषिक र नेपाली नेपालीबीचको एकता कायम गर्न सकोस् भनी कामना गर्दछु । गायन र नृत्यका यी दुई प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिएर यसैगरी संसारमा छरिएर रहेका नेपाली जातिहरूलाई एकीकृत गरी नेपालमा ल्याउने र नेपाली कलाको प्रवर्धन गर्ने यस कार्यलाई निरन्तरता दिनुहोला, धन्यवाद ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend