logo
  • शनिबार, असोज १७ २०८३

जुम्ला साक्षर जिल्ला घोषणा


  • पब्लिक सूचना
  • बिहिबार, मंसिर १३ २०८१

जुम्ला । जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर घोषणा मापदण्डका सबै सूचक पुरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो । आज सदरमुकाममा आयोजित एक समारोहबीच कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आर्चायले जुम्लालाई साक्षर घोषणा गरेका हुन् ।

सामाजिक विकास कार्यालय, पेश नेपाल, किर्डाक नेपाल, क्याड नेपाल, सेभ द चिल्ड्रेनको सहयोग र जिल्ला समन्वय समितिको आयोजनामा साक्षर जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय साक्षरता मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका जनसङ्ख्यामध्ये ९५ प्रतिशतभन्दा माथि साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ ।

सोही प्रावधान बमोजिम जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका ७२ हजार तीन सय १९ जनसङ्ख्यामध्ये ९६ दशमलव ०७ प्रतिशत अर्थात ६९ हजार चार सय ७७ जनाभन्दा बढी नागरिक साक्षर रहेको सुनिश्चित भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जानकारी दिए ।

साक्षर घोषणाको मापदण्डनुसार १५ वर्षमाथि र ६० वर्षमुनिका नागरिकले आफ्नो नाम लेख्न सक्ने, १ देखि १० सम्म गन्न सक्ने, मोबाइल चलाउन सक्ने, फोन गर्न सक्ने, ट्राफिक नियम पालना गर्न सक्नेलगायत १२ वटा सूचकको ५० प्रतिशत पूरा गरेमा साक्षर पालिकादेखि जिल्ला घोषणा गर्न मिल्ने प्रावधान छन् ।

यसअघि जिल्लाका आठै स्थानीय तह साक्षर घोषणा गरिएको थियो । जसमा कनकासुन्दरी गाउँपालिकाका ९७ प्रतिशत, हिमा गाउँपालिका ९६ प्रतिशत, सिंजा गाउँपालिकाका ९६ दशमलव ५ प्रतिशत नागरिक साक्षर भएका छन् ।

चन्दननाथ नगरपालिकाका ९८ दशमलव ९१ प्रतिशत, पातारासी गाउँपालिकाका ९५ दशमलव २५ प्रतिशत, तातोपानी गाउँपालिकाका ९५ दशमलव ७७ प्रतिशत, गुठीचौर गाउँपालिकाका ९५ दशमलव ७३ प्रतिशत र तिला गाउँपालिकाका ९५ दशमलव ४ प्रतिशत नागरिक साक्षर भएको स्थानीय तहका शिक्षा शाखाले सार्वजनिक गरेकोे तथ्याङ्कमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend