पब्लिक सूचना
Kathmandu Gurkhas Talent Hunt:
Players participating in talent hunt of Kathmandu Gurkhas at Cricket Excellence Center, Baluwatar in Kathmandu on Tuesday 12.11.2024. (Photo by Udipt Singh Chhetry/USC Images)
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजको ट्यालेन्ट हन्ट मंगलबारदेखि सुरु भएको छ ।
चार दिन चल्ने कार्यक्रमको पहिलो दिन बालुवाटारस्थित त्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) मा सम्पन्न भयो । पहिलो दिनको छनोटमा ठूलो संख्यामा खेलाडीहरुले आफ्नो प्रतिभा देखाएका थिए । गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले आफ्नो टोली वाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने भएकाले नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतका काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट जिल्लालाई केन्द्रित गरेर ट्यालेन्ट हन्ट आयोजना गरिएको बताए । उनका अनुसार यसका लागि अनलाइन आवेदनमा ३ सय ८० खेलाडीले आफ्नो नाम दर्ता गरेका थिए, जसमा पहिलो दिन १ सय ५० खेलाडीले ट्यालेन्ट हन्टमा आफ्नो प्रतिभा प्रस्तुत गरे ।
नेपाल क्रिकेट संघका सचिव एवं वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का, गुर्खाजका कार्यकारी प्रमुख अधिकृत सन्देश कटवाल, नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष एवं बालुवाटार क्रिकेट क्लबका अध्यक्ष उपेन्द्रप्रसाद भट्टराईले क्रमश: ब्याटिङ, बलिङ र विकेटकिपिङ गरेर ट्यालेन्ट हन्टको उद्घाटन गरेका थिए । सो अवसर क्यानका सदस्य एवंम प्रवक्ता छुम्बी लामा, वाग्मती प्रदेश एवं काठमाडौं जिल्लाका सदस्य अरुण सत्याल, काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष कोषाध्यक्ष विजितध्वज चन्दको उपस्थिति थियो ।

क्यानका सचिव पारस खड्काले ट्यालेन्ट हन्टबाट १ जना खेलाडीले मात्र काठमान्डु गुर्खाजबाट एनपीएल खेल्न पाउने भए पनि ट्यालेन्ट हन्टमा आएका सबै खेलाडी आजको दिनबाट गुर्खाज परिवारमा आवद्ध भएको जनाएका थिए । ‘म पनि २२–२३ वर्ष अघि तपाईहरु जसरी नै यहि बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना भएर आज यो स्थितिमा आएको छु, आज तपाईहरुलाई पनि यसरी नै अगाडि बढ्ने मौका काठमाडौं गुर्खाजले जुराइदिएको छ,’ पारसले भने, ‘एनपीएललाई लिएर चासो र उत्साह दिन प्रतिदिन बढ्दै गएकाले यो नेपाली खेलकुदकै ठुलो इभेन्ट बन्ने आशा लिएको छु ।’
क्यानका पूर्व उपाध्यक्ष भट्टराईले नेपाली क्रिकेटको विकासमा बालुवाटार त्रिकेटको योगदान निकै ठुलो रहेको र यसलाई निरन्तरता दिने कार्यक्रम जारी रहेको जनाए । बाग्मती प्रदेश एवं काठमाडौं जिल्लाका सदस्य अरुण सत्याल ट्यालेन्ट हन्टबाट एक जनामात्र खेलाडी छनोट भए पनि राम्रा अन्य खेलाडीलाई जिल्ला र प्रदेशको टोलीका लागि पनि राखिने जनाए ।

काठमाडौं गुर्खाजका प्रमुख प्रशिक्षक वसन्त शाहीले ट्यालेन्ट हन्टमा सबै खेलाडीलाई मौका दिने र एक उत्कृष्ट खेलाडी बाहेक अन्य ४–५ खेलाडीलाई टिमसँगै राखेर प्रशिक्षणमा समावेश गरिने बताए । गुर्खाजको दोस्रो दिनको ट्यालेन्ट हन्ट बुधबार सीईसी भक्तपुरमा, तेस्रो दिन बिहीबार ललितपुरको हात्तीवनस्थित ग्रेट हिमालय त्रिकेट एकेडेमीमा प्रारम्भिक छनोटको कार्यक्रम हुनेछ भने शनिबार काठमाडौं काँडाघारीमा स्थित वान डे क्रिकेट एकेडेमीमा अन्तिम छनोट हुनेछ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend