पब्लिक सूचना
अस्कर अवार्ड आयोजना गर्ने ‘द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेज’ ले सन् २०२३ को लागि सदस्य बन्न आमन्त्रितहरूको आधिकारिक सूची सार्वजनिक गरेको छ।
एकेडेमीले ३९८ जना फिल्मकर्मीहरूलाई आमन्त्रण गरेको छ। लामो समयसम्म फिल्म क्षेत्रमा योगदान दिएका फिल्मकर्मीहरूलाई एकेडेमीको सदस्यमा छनौट गरिन्छ।
भारतबाट चर्चित व्यक्तिहरूलाई एकेडेमीको सदस्य बन्न आमन्त्रित गरिएको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार भारतबाट मणि रत्नम, करण जोहर, ‘आरआरआर’ को अस्कर विजेता गीत ‘नाटुनाटु’ का संगीतकार एमएम किरावानी, गीतकार चन्द्रबोस, फिल्मका निर्माता शौनक सेन, छायांकार केके सेन्थल कुमार, रामचरण र जुनियर एनटिआरलाई आमन्त्रित गरिएको हो।
‘आरआरआर’ बाट ६ सदस्य छनौट भएसँगै निर्देशक एसएस राजामौलीले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन्।
‘हाम्रो आरआरआर टिमको ६ सदस्यलाई अस्कर एकेडमीले सदस्यको रूपमा आमन्त्रित गरेको छ। हाम्रो लागि यो गर्वको कुरा हो। तारक, चरण, पेद्दानन्ना, साबू सर, सेन्थिल र चन्द्रबोसलाई बधाई। साथै सबै सदस्यलाई बधाई,’ उनले लेखेका छन्।
उनीहरूले आमन्त्रणा स्वीकार गरे भने आगामी वर्षको एकेडेमी पुरस्कारको लागि मतदाता बन्नेछन्। निर्माता तथा निर्देशक करण जोहर भने नयाँ सदस्यको सूचीमा समावेश भइसकेका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend