पब्लिक सूचना
क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा बुधवार नेपालले ओमानलाई ५६ रनले हराएको छ।
नेपालको जितमा कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। सिरिजमा नेपालको यो दोस्रो जित हो।
म्याप्ल लिफ नर्थ वेस्ट ग्राउन्डमा जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७. ५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १ रनमा समेटियो।

खराब सुरूवात गरेको ओमानले २१ रन बनाउँदा २ विकेट गुमाइसकेको थियो। पहिलो २ ॐविकेट रिजन ढकालले लिंदै नेपाललाई राम्रो सुरूवात दिलाए। उनले कश्यप प्रजापतिलाई २ र सोएब खानलाई ९ रनमा आउट गरे।
यसपछि कप्तान अकिब इलियास र जेसन मक्सुदले तेस्रो विकेटको लागि ४० रनको साझेदारी गरे। यो साझेदारीलाई सन्दीप लामिछानेले तोडे। अकिब २२ रनमा सन्दीपको बलमा दीपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट भए। यतिखेर ओमानले ६१ रन बनाएको थियो।
यसपछि ओमानले निरन्तर अन्तरालमा विकेट गुमायो। थप ४० रन मात्र जोड्ने क्रममा बाँकी ७ विकेट खेर फाल्यो। यसपछि जेसनले ३५ रन बनाए। उनी कप्तान रोहितद्वारा कट एण्ड बोल्ड भए। प्रतिक अथाभालेले १२ रम बटुले। तीन खेलाडी बाहेक अन्यले दोहोरो रन लिन सकेनन्।

बलिङमा कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए। मात्र ११ बलमा १० रन खर्चेर ३ विकेट आफ्नो नाममा लेखाए। रोहित , सन्दीप र रिजनले सामन २ विकेट झारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रनको योगफल खडा गरेको थियो।
१३ रन मात्र जोड्दा नेपालका ओपनर अनिल शाह ११ रनमा आउट भए। लगतै १६ रन जोडेर आशिफ शेख पनि पबिलियन फर्किए। देव खनाल पनि क्रिजमा जम्न सकेनन्। उनी १८ रनमा आउट भए ।
नेपालले तेस्रो विकेट गुमाउँदा ५५ रन बनाएको थियो। यसपछि कुशल मल्ल र रोहितले चौथो विकेटको लागि ५५ रनको साझेदारी गरे। कुशल १९ रन जोडेर आउट भए। रोहित क्रिजमा टिक्दै अर्धशतक प्रहार गर्न सफल रहे। उनले ४४ बलको सामन गर्दै २ चौका र ४ छक्का सहित अविजित ५६ रनको उत्कृष्ट पारी खेले।
गुलशन झा २, दीपेन्द्र सिंह ऐरी १ र कुशल भुर्तेल ११ रनमा आउट भए। बलिङमा फयाज बटले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। रोहित प्लेयर अफ दी म्याच बने।

जारी सिरिजमा नेपालको यो दोस्रो जित हो। यसअघि नेपालले ओमानलाई नै ३७ रनले हराएको थियो। नेपाल क्यानडासँग पहिलो खेलमा ४ विकेटले र दोस्रो खेलमा १४ रनले हारेको थियो।
नेपालले दुई २ र २ हारपछि ४ अंक बनाएको छ। ३ खेल खेलेको ओमानसँग २ अंक रहेको छ। अब ओमान र क्यानडाबीचको खेल बाँकी छ। यो खेलको नतिजापछि सिरिज विजेताको निर्णय हुनेछ। ३ खेल खेलेको क्यानडाको ४ अंक छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend