पब्लिक सूचना
अदालतले यो समुदायका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न भनेको छ। अदालतको यो आदेशसँगै समलिंगी (महिला-महिला र पुरूष-पुरूषबीचको) बिहे दर्ता हुने बाटो खुलेको छ। यो खबर रोशन भण्डारी र जीवन अधिकारीको जीवनमा आशाको उज्यालो किरण बनेको छ। भविष्यमा बिहे गर्ने रहर पालेका उनीहरू प्रेममा छन्। मोरङका २५ वर्षे रोशन र २३ वर्षे जीवन भविष्यमा बिहे गरेर सँगै बस्न चाहन्छन्।
‘हामी एकअर्कालाई माया गर्छौं, प्रेम गर्छौं। बिहे गरेर सँगै जीवन बिताउन चाहन्छौं,’ रोशनले हामीसँग कलमा भने। कुराकानी क्रममा जीवन पनि सँगै थिए। उनीहरूको भेट भएको ६ वर्ष भयो। चिनजान ‘डेटिङ एप’ बाट भएको हो। जीवन भर्खर १७ वर्षका किशोर थिए। संकोच मान्दै उनले अर्कै नाममा एपमा खाता खोले। त्यहीँ उनको सम्पर्क रोशनसँग भयो। कुरा गर्दै जाँदा एकअर्काप्रति आकर्षण बढ्यो।
‘केटीसँग प्रेम गर्ने कुरा आउँदा म त्यसो गर्न सक्दिनँ भन्ने भयो। यसपछि म फरक छु भन्ने यकिन भयो,’ रोशनले भने, ‘जीवनसँग भेट भएपछि भने समलिंगी रहेछु भन्ने प्रस्ट भयो।’
अनि भने उनीहरूले भेट्ने र आफूहरूबीचको प्रेम फस्टाउन दिने निधो गरेका हुन्।
‘हाम्रो चिनजान, भेट र प्रेम हुनुमा हामी खुसी छौं,’ उनीहरूले भने, ‘त्योभन्दा बढी खुसी हाम्रो परिवारबाट पाएको समर्थन र सहयोगले मिलेको छ।’
समलिंगी बिहेले कानुनी मान्यता पाउने बाटो अहिले खुले पनि रोशन र जीवनको परिवारले उनीहरूलाई पहिल्यै स्वीकार गरिसकेको छ।
जीवन परिवारका एक्ला छोरा हुन्। उनी सानै छँदा बुबा बितेपछि आमाले एक्लै हुर्काइन्। रोशनसँग प्रेममा परेको एक वर्षपछि उनले आमालाई आफू समलिंगी भएको कुरा सुनाए। प्रेमको कुरा पनि भने।
सुरूमा केही असहज अवस्था भए पनि दिदीले सहजीकरण गरिदिइन्। दिन बित्दै जाँदा रोशनको यौनिकताको कुरा सहज हुँदै गयो। बिस्तारै आमाबुबा स्वीकारतिर गए।
‘अहिले सबै ठिकठाक छ, तँ जसरी खुसी हुन्छस् त्यसै गर् भन्नुहुन्छ,’ रोशनले भने, ‘आमाबुबालाई समाजमा गाह्रो होला भन्ने मात्र डर हो, अरू त समस्या छैन। जीवनलाई माया गर्नुहुन्छ। ऊ आउँदा खुसी हुनुहुन्छ।’
‘म विदेश गएँ भने आमा एक्लै पर्नुहुन्छ। म यतै बसेर पढाउने काम गर्छु,’ उनले भने।
उनीहरू केही वर्षपछि बिहे गर्न चाहन्छन्। यसनिम्ति आआफ्ना परिवारबाट हार्दिकतापूर्वक सहयोग र स्वीकार हुने विश्वास उनीहरूको छ। लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिबारे धारणा सकारात्मक बन्दै गएकाले समाजले पनि आफूहरूको बिहे स्वीकार गर्नेमा उनीहरू आशावादी छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend