पब्लिक सूचना
नारायणी नदीमाथि निर्धारित समयभन्दा ६ वर्ष ढिलो भए पनि झोलुंगे पुल बनेपछि सुस्ताका बासिन्दा खुसी भएका छन्।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको वडा नम्बर ५ तीनतिरबाट नारायणी नदीले र एकतिरबाट भारतीय भूमिले घेरिएको छ।
पुल नहुँदा आफ्नै वडा कार्यालयमा पुग्न पनि भारतीय भूमि हुँदै जानुपर्ने वा झन्डै एक घन्टा हिँडेर डुंगाबाट नारायणी तर्नुपर्थ्यो। आफ्नो भूमि रक्षाका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग संघर्ष गर्दै आएका सुस्तावासीले सानो कामका लागि पनि भारतीय भूमिको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको छ।
निर्माण सुरू भएको करिब ९ वर्षमा नारायणीमा झोलुंगे पुल बनेपछि सुस्तावासीलाई नदीपारिको आफ्नो भूमिसँग जोडिन सहज भएको हो।
नारायणीमा पुल बनेपछि सुस्तावासीले राज्यसँग जोडिएको अनुभूति गरेका छन्।
फराकिलो नारायणी नदीमाथि बनेको एक हजार ५७१ मिटर लम्बाइ र १६० सेन्टिमिटर चौडाइको आकर्षक पुल सुस्तावासीको लाइफलाइन बनेको छ।
सुस्ताका बासिन्दा मुन्सिकुमार हरिजन बर्दघाटमा कार्यालय रहेको एक गैरसरकारी संस्थामा काम गर्छन्। उनी सुस्ताबाट भारतीय भूमि हुँदै मोटरसाइकलमा एक घटामा बर्दघाट पुग्थे।
एकघण्टाको यात्रा धेरै लामो नभए पनि उनी एसएसबीबाट हैरान थिए। त्यही हैरानीले हरेक दिन आउजाउ गर्नुको साटो नारायणी पारि नै डेरा लिएर बसेका थिए। शनिबार र अन्य बिदाको मौकामा मात्रै घर आउँथे।
पुल बनेपछि घरबाटै आउजाउ गर्न थालेका छन्। यात्रा पनि छोट्टिएको छ। उनले भने, ‘पुल नहुँदा आफ्नै वडा कार्यालय पुगेर फर्किंदा पनि दिन जान्थ्यो। अहिले एकघण्टामै पुगेर सिफारिस लिएर घर फर्किन सकिने भयो।’
मुन्सिकुमारलाई सुस्ताका बासिन्दा बल्ल नेपाली भयौं भन्ने अनुभूति भएको छ।
‘पुल बनेपछि त बयान गर्नै नसकिने खुसी मिलेको छ। पहिलोपटक पुल तर्दा मेरा आँखाबाट खुसीको आँसु बग्यो। हामी सुस्तावासी बल्ल नेपाली भयौं जस्तो लाग्यो,’ उनले भने, ‘अब हामी नेपाली भएर हिँड्न सक्ने भएका छौं। एसएसबीले दिने दुःख पनि सहनु पर्दैन। अहिले त राति १० बजे घर पुग्न पनि डर लाग्दैन।’
साढे एक किलोमिटरभन्दा लामो झोलुंगे पुल निकै आकर्षक छ। यति बेला पुल हेर्न जानेहरुको भिड लाग्ने गरेको छ। सार्वजनिक बिदाका दिनमा नेपाली र भारतीय गरी पाँच हजार जनासम्म पर्यटक आउने गरेको उनको भनाइ छ।
पर्यटक आगमन बढ्दा गाउँको चेतनामा पनि परिवर्तन देखिन थालेको छ।
‘विभिन्न ठाउँका पर्यटकहरू आउन थालेपछि गाउँमा चेतना बढेको छ। स्कुल पढ्ने विद्यार्थीहरू नारायणीपारि जान सजिलो भएको छ,’ मुन्सिकुमार भन्छन्, ‘गाउँमा आठकक्षा सम्मको स्कुल थियो। त्यसपछि धेरैको पढाइ त्यतिकै रोकिन्थ्यो। अब आफै पुल तरेर (नारायणी) पारिको स्कुल जान सक्छन्।’
पर्यटको चहलपहलले स्थानीयवासीको आर्जन पनि बढेको छ। पुलको दुबैतर्फको मुखमा व्यापार फस्टाएको छ। दुबैतिर बगरमा व्यापार चलेको छ।
करिब १५ वर्षअघिदेखि ठेलामा चटपट बेच्ने गरेका ‘पाइलटबाबा’ भनिने रामानन्द गुप्तालाई पुल बनेपछि आफ्नो जीवन बदलिएको अनुभव भएको छ। उनको व्यापार पाँच गुणाले बढेको छ।
‘पुलले त हाम्रो जीवन नै बदलिदियो। हामीलाई धेरै राम्रो भयो,’ उनले भने, ‘पहिले एक दिनमा चटपटमा एक किलो केराउ सकिन्थ्यो अहिले पाँच किलो सकिन्छ।’
पुल बनेपछि डुंगा व्यवसाय झन् फस्टाएको छ। पहिले नारायणी नदी तर्न बाध्यताले डुंगा चढ्नुपर्थ्यो। अहिले पुल हेर्न आउनेहरू पुलमुनिबाट नदी वारपार गर्ने रहरले डुंगा चढ्छन्।
रामानन्द भन्छन्, ‘मेरो सानो छोरो पनि डुंगा चलाउँछ। पहिले बाध्यताले डुंगा चढ्नेहरूलाई वारिपारि गराउँथ्यो। अहिले रहरले डुंगा चढ्ने मान्छे आउँछन्। उसको काम झनै बढेको छ।’
सुस्ताका बासिन्दा रवीन्द्र जयसवालका अनुसार सुस्ता क्षेत्रमा नारायणी नदीमा पुल बन्नु सुस्तावासीको मात्र होइन, नेपालकै ठूलो उपलब्धि हो।
उनले भने, ‘वर्षातको समयमा नेपालसँग सुस्ताका हामीको सम्बन्ध टुट्थ्यो। वारि (सुस्तामा) केही समस्या भए पारिबाट हेर्नुबाहेक कुनै उपाय थिएन, अब त हामी पनि नेपालसँगै जोडिएका छौं।’
सुस्ताका टेन्टहाउस व्यवसायी पवन राजभरका अनुसार पहिले भौगोलिक रूपमा दुर्गम भए पनि नारायणीमा पुल बनेपछि सुस्ता गाउँ फेरिन थालेको छ।
उनी भन्छन्, ‘सुस्ता निकै चर्चाको ठाउँ हो। पुल बनेपछि सुस्ता हेर्न आएको भनेर गाउँमा आउनेहरू पनि धेरै छन्। पुलमा फोटो खिखाउने र भिडियो बनाउने युवायुवतीको भिड हुन्छ। हाम्रो व्यापार बढेको छ।’
सुस्ताको सीमा जोगाउन कहिलेकाहीं भारतीयहरूसँग आमनेसामने हुने गरेका आदम हुसेनका अनुसार पुलनिर्माण पूरा भएको दिन उनको जीवनको सबैभन्दा ठूलो खुसीको दिन थियो।
‘सुस्तालाई नेपालसँग जोड्नुपर्यो, नारायणीमा पुल बनाउनुपर्यो भनेर आवाज उठाउँदै यहीं जीवन बिताएँ। भारतीयहरुसँग संघर्ष गरें,’ उनले भने, ‘नारायणीमा पुल तरेर पारिको नेपाली भूमि टेकेका दिन ज्युँदै स्वर्ग पुगेको अनुभूति भयो।’
आदम हाल नागरिक समूह ‘सुस्ता बचाउ अभियान’ का कार्यबहाक अध्यक्ष रहेका छन्।
उनका अनुसार सुस्ताका मुख्य समस्या भारतसँग सीमा निर्धारण गर्नु, सीमा सुरक्षा गर्नु र अतिक्रमित जग्गा फिर्ता गर्नु हो। नागरिकता प्रमाणपत्र प्राप्ति यहाँका बासिन्दाको अर्को ठूलो मुद्दा हो।
अब यी मुद्दा सम्बोधनमा सहज हुने उनको विश्वास छ।
सुस्ता गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष प्रभु यादव पुल बनेपछि किनमेलमा र राज्यले दिने सेवासुविधा प्राप्तिमा सहज भएको छ।
यो पुल ‘त्रिशूली आश्रय जेभी कन्स्ट्रक्स’ ले साढे २३ करोड रुपैयाँको लागतमा निर्माण गरेको हो। गत असार अन्तिम साता काम पूरा भएको हो।
निर्माण कम्पनीसँग २०७२ साल असोजमा सम्झौता हुँदा २०७५ साल पुसमा काम पूरा गर्ने शर्त थियो। कम्पनीले निर्धारित अवधिभन्दा ६ वर्ष ढिलो गर्यो।
नारायणीपारिको सुस्तागाउँ सुस्ता गाउँपालिकाको वडा नम्बर ५ हो। यहाँ करिब ३५० घरधुरीमा करिब तीन हजार २०० जनसंख्या रहेको छ।
पुलबाटै राष्ट्रिय प्रसारण लाइन
नारायणीपारिको सुस्तागाउँ जोड्न झोलुंगे पुल बनेपछि गाउँमा बिजुली पनि पुगेको छ। यसअघि सुस्ता गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा सोलार प्यानलबाट विद्युत् आपूर्ति हुने गरेको थियो।
सोलार प्यानलबाट एक सय किलोवाट विद्युत् उत्पादन हुने गरे पनि नियमित मर्मत सम्भार नहुँदा क्षमता घट्दै गएको थियो। पुल बनेपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५, सकरदिनयीबाट करिब पाँच किलोमिटर लामो ११ केभी लाइन निर्माण गरी पुलबाटै सुस्तामा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् विस्तार गरेको हो।
प्राधिकरणका अनुसार पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पालना गरेर दायाँबायाँबाट बस्तीमा विद्युत् पुर्याइएको हो।
प्राधिकरणले आर्थिक २०७९/८० मै सुस्तामा विद्युतीकरणको काम सुरु गरे पनि नारायणी नदीबाट तार लैजान कठिन भएको थियो। अहिले पुलबाटै तार लगिएको छ।
प्राधिकरणका अनुसार एक करोड ३३ लाख रुपैयाँको लागतमा सुस्तामा विद्युतीकरणको काम भएको हो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend