logo
  • शनिबार, असोज १७ २०८३

विश्वकप लिग-२ : क्यानडामा हुने सिरिजको अन्तिम तयारी गर्न नेपाली टोली श्रीलंकातर्फ


  • पब्लिक सूचना
  • आइतबार, भाद्र १६ २०८१

आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडामा अर्को महिना हुने एकदिवसीय सिरिजको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गरेको छ।

यसअघि भारतको बेंगलुरुमा दुई साता अभ्यास गरेर नेपाल फर्किएको टोली आइतबार श्रीलंका प्रस्थान गरेको हो।

त्यहाँ नेपालले सोमबारदेखि तयारी थाल्नेछ। त्यसक्रममा नेपालले श्रीलंकाको डेभलवमेन्ट टोलीसँग तीन वटा अभ्यास खेल खेल्नेछ।

नेपालले मंगलबार, शुक्रबार र शनिबार अभ्यास खेल खेल्ने कार्यक्रम छ।

त्यसका लागि नेपाली टोलीमा १९ खेलाडी छनोट भएका छन्। यसअघि टोलीमा रहेका कमलसिंह ऐरी, बसिर अमहद र सूर्य तामाङ टोलीबाट बाहिरिएका छन्।

श्रीलंका जाने टोलीमा कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन्। क्यानडाको ग्लोबल टी-२० खेल्न गएका उनीहरु उतैबाट टोलीमा मिसिनेछन्।

नेपालले क्यानडामा लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो। क्यानडामा हुने सिरिजमा घरेलु टोलीसँगै नेपाल र ‌ओमानबीच प्रतिस्पर्धा हुनेछ।

क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ। अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन्।

१९ सदस्यीय नेपाली टोली 
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, करण केसी, गुल्शनकुमार झा, रिजन ढकाल,सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, आकाश चन्द, अर्जुन साउद, सागर ढकाल, सोमपाल कामी, सन्दीप जोरा।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend