पब्लिक सूचना
काठमाडौँ, असार १५ गते । पछिल्लो समयमा वैदेशिक रोजगारीका नाममा हुुने मानव तस्करीका घटना बढ्दै गएका छन् तर यससम्बन्धी कानुन नहुँदा यस्ता तस्करलाई कानुनको दायरामा ल्याउन सकिएको छैन । नेपालबाट युरोप, अमेरिकामा मानव तस्करीका घटना बढ्दै गए पनि कानुन नबन्दा यस्तो धन्दा चलाउनेलाई कारबाहीको दायरामा ल्याउन नसकिएको हो ।
वरिष्ठ अधिवक्ता सोमप्रसाद लुइँटेलले मानव तस्करीजस्तो गम्भीर घटनाको सम्बोधन गर्ने छुट्टै कानुन नहुँदा मानव तस्करीका अपराधीले उन्मुक्ति पाउँदै आएको अवस्था रहेको बताउनुभयो । पछिल्लो पटक युरोप, अमेरिकामा मात्रै होइन, खाडीमै पनि आकर्षक तलब सुविधामा रोजगारी दिने बहानामा मानव तस्करी हुने क्रम डरलाग्दो गरी बढेको उहाँको अनुभव छ ।
वरिष्ठ अधिवक्ता लुइँटेलले भन्नुभयो, “मानव तस्करीका घटना बढेका छन् तर यसको कानुन नहुँदा यससम्बन्धी घटना वैदेशिक रोजगारीको ठगीसम्बन्धी उजुरीमा गएर टुङ्ग्याइने गरिएको छ । यसले गर्दा मानव तस्करी गर्नेको मनोबल झन् बढ्दै गएको छ ।”
उहाँका अनुसार मानव तस्करी र वैदेशिक रोजगारीको ठगी फरक प्रकृतिका घटना हुन् तर मानव तस्करसम्बन्धी कानुन नहुँदा सबै ठगीमै लगेर हेर्ने गरिएको छ । त्यसैले मानव तस्करीसम्बन्धी घटनाको तथ्याङ्क कहीँकतै भेटिँदैन ।
मानव तस्करी वैदेशिक रोजगारी र मानव बेचबिखनभन्दा फरक रहेकाले छुट्टै कानुनको आवश्यकता औँल्याइएको छ । मानव तस्करी र मानव बेचबिखनको परिभाषा नै फरक रहेकाले कानुन पनि फरक आवश्यक भएको अधिवक्ता लुइँटेलको भनाइ छ । मानव तस्करी गर्नेलाई कारबाहीका लागि अहिले अन्य कानुनको सहायता लिनुपर्दा पीडित न्यायबाट वञ्चित हुँदै आएका छन् ।
नेपाल प्रहरी अन्तर्गतको मानव बेचबिखन अनुसन्धान ब्युरोले भ्रमण भिसामा वैदेशिक रोजगारमा जाने क्रम बढेको भन्दै अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेको जनाएको छ । ब्युरोका अनुसार पछिल्लो एक वर्षमा भ्रमण भिसा लिएर वैदेशिक रोजगारमा जान लागेका चार हजारभन्दा बढीलाई विमानस्थलबाट फिर्ता पठाइएको छ । जसमा पुरुषभन्दा महिला धेरै छन् । भ्रमण भिसामा जाँदा मानव तस्करीको जोखिममा पर्न सक्ने भन्दै २०७९ वैशाखयता चार हजार १७३ जनालाई परामर्शसहित फिर्ता पठाइएको ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । ब्युरोका अनुसार २०७९ माघमा भ्रमण भिसामा वैदेशिक रोजगारका लागि हिँडेका १९३ महिला र ५७ पुरुष गरी २५० जनालाई फिर्ता गरिएको थियो । फागुनमा ३३१ महिला र २२६ पुरुष गरी ५५७ जनालाई र चैतमा ५२६ महिला र १२७ पुरुष गरी ६५३ जनालाई फर्काइयो । यो वर्ष वैशाखयता मात्रै एक हजार ७६ महिला र ६३५ पुरुषलाई फर्काएको ब्युरोले जनाएको छ ।
सो ब्युरोका अनुसार भ्रमण भिसामा जानेको मुख्य गन्तव्य खाडीमा संयुक्त अरब इमिरेट्स (युएई) ओमान, कतार, कुवेत र बहराइन हुन्छन् । युरोपेली देशमा सर्बिया, पोर्चुगल, टर्की, साइप्रस हुन्छन् भने अमेरिका जाने भनेर अजरबैजान, अफ्रिकी मुलुक र दक्षिण अमेरिकी मुलुक पुग्ने गरेको पनि ब्युरोले जनाएको छ । म्यान्मार, लाओस, कम्बोडिया र थाइल्यान्ड जाने पनि प्रशस्तै छन् ।
आर्थिक वर्ष २०७९/८० को माघदेखि भ्रमण भिसामा वैदेशिक रोजगारका लागि दुबई, ओमान, कतार, कुवेत र बहराइन हिँडेका दुई हजार १०५ महिला र ९९६ पुरुष गरी तीन हजार १०१ जनालाई फर्काइएको छ । ब्युरोका प्रमुख श्रेष्ठले बेचबिखन, तस्करी तथा विभिन्न उद्देश्यले भ्रमण भिसाको आवरणमा युवा ओसारपसार भइरहेको बताउनुभयो । उहाँले पछिल्लो समय युरोप र अमेरिका छिर्ने प्रलोभनमा पनि ठुलो सङ्ख्यामा युवा मानव तस्करीमा पर्ने गरेको बताउनुभयो ।
ब्युरोको तथ्याङ्क अनुसार पछिल्ला पाँच वर्षमा अमेरिका छिरेकामध्ये १७८ जना नेपाली डिपोर्ट भएका छन् । मानव तस्करी तथा ओसारपसारमा संलग्न एजेन्ट विदेशमा बसेर काम गर्ने हुँदा प्रहरीलाई भित्री तहसम्म पुग्न असहज भएको भोगाइ एसएसपी श्रेष्ठको छ । उहाँले विदेशमा त्यस्ता एजेन्टको पहिचान भए पनि सुपुर्दगी सन्धि तथा अन्तर्राष्ट्रिय सम्झौताको अभावमा उनीहरूलाई कानुनी दायरामा ल्याउन कठिन रहेको बताउनुभयो । घरेलु श्रमिकका रूपमा मलेसिया तथा खाडी मुलुक जान प्रतिबन्ध लगाइएकाले भारतसँगको खुला सिमानाका कारण तस्करी बढेको उहाँको बुझाइ रहेको छ । मानव तस्करी नियन्त्रणका लागि छुट्टै कानुन नहुँदा पनि यो समस्या नियन्त्रण गर्न गाह्रो परेको उहाँले बताउनुभयो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend