पब्लिक सूचना
१४ असार २०८०, बिहिबार । नेपाली चलचित्र क्षेत्रमा नायिका रेखा थापाको एकछत्र राज चल्थ्यो । नायिका, निर्माता र निर्देशकसम्मको उहाँको चलचित्र यात्रा धेरैका लागि प्रेरणादायी हुन सक्छ । वीर नायिकाका रूपमा पटक पटक पर्दामा देखिने नायिका थापा राजनीतिमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सामाजिक सेवामा पनि समर्पित थापा आफ्नो प्रतिभा र क्षमता देखाउन चाहने महिलाका लागि सहयोग गर्न सधैँ तत्पर रहनुहुन्छ । चलचित्र क्षेत्रको समसामयिक विषयमा नायिका थापासँग गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
– तपाईंले चलचित्र क्षेत्रमा विशेष स्थान बनाउनुभएको छ । यो कसरी सम्भव भयो ?
म आममान्छे हुँ । आममान्छेको जीवनलाई अमूल्य ठान्छु । त्यही आममान्छेको आँखाबाट चलचित्र निर्माण गर्ने कुरामा विश्वास गर्छु । आममान्छेले जिन्दगीलाई नजिकबाट बुझेका हुन्छन्, भोगेका हुन्छन् । म तिनै आममान्छेका कथालाई आफ्नो कथा मान्ने गर्छु । म ती मान्छे खुसी हुँदा खुसी हुन्छु । तिनको ओठमा मुस्कान र आँखामा क्रान्ति देख्न चाहने मान्छे हुँ । आवाजविहीनको आवाज बन्न रुचाउने मान्छे हुँ । अन्यायविरुद्ध लड्नु मेरो चरित्र हो । मेरा अधिकांश चलचित्र पनि तिनकै सेरोफेरोमा बनेका छन् ।
– पछिल्लो समय नेपालमा धेरै चलचित्र बनेका छन् ? ती चलचित्रलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
पहिला पहिला त मलाई नेपाली चलचित्र राम्रै लाग्थ्यो । पछिल्लो समयमा आएर एकदमै मिश्रित भयो । चलचित्रमा हरेक रङ हुन्छन् तर कतिपय रङ नै नभएका चलचित्र पनि बने । संसारमा जहाँ पनि अलग किसिमको चलचित्र बनाउँछु भनेर जोखिम मोल्ने थोरै साहसी मात्रै देखिन्छन् तर यसमा याद गर्नुपर्ने के हो भने आफू यो क्षेत्रमा बलियोसँग टेक्नै नपाई साहसी हुनु भनेको दुस्साहसी हुनु हो । हामीले जस्तो चलचित्र बनाइरहेका छौँ; तिनको सङ्गीत, कथा, प्रस्तुति, सिनेमाटोग्राफी जस्ता कुरामा विज्ञ व्यक्तिहरूको साथ लिएर गम्भीर भई काम गर्ने बेला अब आइसक्यो जस्तो लाग्छ । पुरानै ढाँचाका कथा र बासी सङ्गीत र नाटकीय अभिनय दोहो-याउनेले दोहो-याएर चलचित्र बनाउने सम्भावनाको आफ्नो ढोका आफैँ बन्द गर्ने छन् ।

– तपाईंको बुझाइमा चलचित्र के हो ?
मेरो बुझाइमा चलचित्र भनेको विशुद्ध मनोरञ्जन हो तर त्यसभित्र गहिरो दर्शन पनि लुकेको हुन्छ । समाजमा भएका मर्मस्पर्शी तर अव्यक्त कुरालाई पनि सान्दर्भिक तरिकाले देखाउन सक्नु पर्छ । अनि मात्र चलचित्र, चलचित्र जस्तो हुन्छ ।
–तपाईं चाहिँ कस्ता खालका चलचित्र हेर्न रुचाउनुहुन्छ ?
मलाई प्रेरणादायी चलचित्र धेरै मन पर्छ । प्रेमकथामा आधारित चलचित्र पनि मन पराउँछु ।
– तपाईं बडो शालीन, निश्चल देखिनुहुन्छ तर दर्शक तपाईंलाई ‘हट’ नायिका भन्छन् । तपाईंलाई चाहिँ आफू के जस्तो लाग्छ ?
मान्छेले मलाई ‘हट’ भनेको सुनेकी छु । सुन्दा एकदमै खुसी लाग्थ्यो तर त्यति बेलाको समाजले त्यसलाई गलत ढङ्गले बुझ्ने गरेको पनि मलाई थाहा छ । ‘हट’ भनेको पनि शारीरिक रूपमा अति आकर्षकलाई भनिन्छ । नबुझ्नेलाई के के न होला तर मेरा लागि दर्शकले दिएको ठुलो प्रशंसा हो । यो त जोकोहीले पाउने प्रशंसा होइन । अहिले जसरी मलाई दर्शकले ‘हट’ भन्नुहुन्छ; आशा छ, मैले चलचित्रबाट सन्न्यास लिने बेलामा मेरो अभिनय र सिनेकर्म पनि हट बन्न सकोस् ।

– तपाईंले चलचित्र क्षेत्रमा एकछत्र राज गर्दागर्दै राजनीतिमा के देख्नुभयो र त्यसमा लाग्नुभयो ?
चलचित्र वा कुनै पनि क्षेत्रमा आबद्ध व्यक्तिले राजनीतिमा चासो लिनु हुँदैन भन्ने मलाई लाग्दैन । यो बडो संवेदनशील कुरा हो । राजनीति गर्ने मान्छेमा एउटै कौशल भएर पुग्दैन । विवेकी हुनुपर्छ, अरूप्रति संवेदनशील हुन सक्नु पर्छ, समाजको मनोविज्ञान बुझ्नु पर्छ र बहुजनको हित हुने चिन्तन गर्नु पर्छ । राजनीति पद वा शक्तिको सन्तुलनका लागि मगज खियाउने काम होइन । मैले चलचित्रमार्फत समाजलाई जे दिन सक्छु, दिएँ तर त्यतिले मात्र म हुनुको दायित्व पूरा भए जस्तो मलाई लागेन । त्यसैले आफूलाई रुचि भएको कुरामा चासो दिएकी मात्र हुँ ।
– चलचित्र र राजनीतिबाहेक तपाईंका अन्य रुचिका क्षेत्र के के छन् ?
मेरो रुचि गीत सङ्गीत सुन्ने हो । कहिलेकाहीँ कविता पढ्छु । चलचित्र खासै हेर्दिनँ । म पढ्नचाहिँ पढ्छु, जसमा आध्यात्मिक पुस्तकहरू ज्यादा छन् । म विभिन्न धर्मका किताब पढिरहेको हुन्छु ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend