logo
  • आइतबार, असोज १८ २०८३

बंगलादेशमा छिट्टै शान्ति स्थापना हुने कांग्रेसको विश्वास परराष्ट्र मन्त्री आरजु


  • पब्लिक सूचना
  • बिहिबार, साउन २४ २०८१

नेपाली कांग्रेसले बंगलादेशमा छिट्टै शान्ति स्थापना हुने विश्वास गरेको छ।

बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो।

बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा बंगलादेशमा छिट्टै शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रक्रिया सुचारू ढंगले अघि बढ्ने विश्वास कांग्रेसको छ।

‘बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा कांग्रेसले बंगलादेशी नागरिकको भावना बमोजिम चाँडै नै त्यहाँ शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रकृया सुचारु ढंगले अघि बढ्ने विश्वास लिएको छ,’ मुख्यसचिव पौडेलले भने।

साथै कांग्रेसले बंगलादेशका घटनाबाट नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारले थप तदारूकता राख्ने विश्वास पनि लिएको छ।

बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी थिइन्। हसिनाको बहिर्गमनपछि अन्तरिम सरकार प्रमुख बनेका मोहम्मद युनुसले बिहीबार शपथ लिने तयारी गरेका छन्।

विद्यार्थीहरूको आन्दोलन सरकारको नियन्त्रणबाहिर पुगेपछि हसिनाले प्रधानमन्त्रीबाट राजीनामा गर्दै देश छाडेलगत्तै नोबल पुरस्कार विजेता युनुस मंगलबार त्यहाँको अन्तरिम सरकार प्रमुख नियुक्त भएका थिए।

केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवाले बंगलादेश, बेलायत, इजरायल, लेवनानमा पछिल्लो समय विकसित घटनाक्रमका साथै त्यहाँ रहेका नेपालीहरूसँग नियमित सम्पर्कमा रहिरहेकोबारे जानकारी गराएकी थिइन्।

केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री रमेश लेखकले गत असार १७ गते कांग्रेस-एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठनबारे भएको सहमति कार्यसमितिलाई जानकारी गराएका थिए।

विभिन्न ११ एजेन्डामाथि छलफल गर्न बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक पुन: बस्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend