logo
  • शनिबार, असोज १७ २०८३

अनमोल र जसिताको ‘फर्की फर्की’ नेपालसँगै यी देशमा एकसाथ प्रदर्शन हुँदै


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ ३ २०८१

अनमोल केसी र जसिता गुरूङ अभिनीत फिल्म ‘फर्की फर्की’ जेठ १० मा स्वदेशसँगै अन्तर्राष्ट्रिय बजारमा पनि एकसाथ प्रदर्शनमा आउने भएको छ।

नेपालसँगै अमेरिका, अस्ट्रेलिया, युके, जापान, हङकङ, कोरिया, क्यानडा र माल्टामा फिल्मलाई एकसाथ प्रदर्शनमा ल्याउन लागिएको निर्माता रोहित अधिकारीले बताए।

उनका अनुसार मध्यपूर्वका युएई, बहराइन र कतारमा पनि फिल्म एकसाथ प्रदर्शनमा आउनेछ।

अमेरिका, अस्ट्रेलियासहित मध्यपूर्वका देशमा नियमित शोमा फिल्म प्रदर्शन हुने निर्माता अधिकारीले बताए। नेपालसँगै मध्यपूर्वमा एकैदिन रिलिज हुनेमा ‘फर्की फर्की’ पहिलो फिल्म रहेको त्यहाँको प्रदर्शन अधिकार लिएको नीप फिल्मले जनाएको छ।

फिल्मलाई अमेरिकामा नेपाल ११ इन्टरटेन्मेन्टले प्रदर्शन गर्न लागेको हो। अस्ट्रेलियामा नमस्ते इन्टरटेन्मेन्ट, जापानमा सुवास लामिछाने इन्टरटेन्मेन्ट, हङकङमा ओपीजी फिल्म, कोरियामा नमस्ते फ्याफुल्ला, माल्टामा ब्यु हर्ष इन्टरटेन्मेन्ट र युकेमा हल्का इभेन्टस् प्रा.लीले फिल्मलाई प्रदर्शन गर्न लागेको हो।

सुयोग गुरूङको लेखन एवं निर्देशन रहेको ‘फर्की फर्की’ मा अनमोल र जसितासहित रवि काफ्ले र समृद्धि अर्यालको मुख्य अभिनय छ।

सार्वजनिक ट्रेलर र गीतबाट यो फिल्मले दर्शकमाझ राम्रो हाइप बनाएको देखिन्छ। अनमोलको स्टारडमको प्रभाव फिल्ममा देखिएको छ।

फिल्मलाई रोमान्स, ड्रामा र एक्सन जनरामा राखिएको छ। लभस्टोरीसँगै ‘टाइम लुप’ को कथालाई फिल्मले उठान गरेको छ।

रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको फिल्मको निर्माता रोहित अधिकारी र ओमप्रकाश अग्रवाल हुन्। यसमा नरेन्द्र मैनालीको डिओपी, अष्ट महर्जनको द्धन्द्ध, किरण थापाको कोरियोग्राफी, सुरेन्द्र पौडेलको सम्पादन छ।

बुद्द जयन्तीको अवसर पारेर प्रदर्शनमा आउन लागेको ‘फर्की फर्की’ लाई नेपालमा काफिया फिल्मस र कुबेर फिल्मले वितरण गर्दैछन्।

Farki-Farki-Australia-1715753077.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend