पब्लिक सूचना
काठमाडौं, मङ्सिर १ गते । राष्ट्रिय सभाका २० सांसदको ६ वर्षको पदावधि सकिनै लागेकाले बिदाइका दिन नजिकिँदैछ ।
२० सांसदको पद रिक्त हुन लागेपछि विभिन्न राजनीतिक दलमा चलखेल पनि सुरु भएको छ । राष्ट्रिय सभामा जानका लागि नेताहरुले आ–आफ्ना पार्टीका शीर्ष नेताहरुसँग सम्बन्ध अझ बढाउन थालेका छन् । कुन समूहमा पद रिक्त हुने हो र आफू जान मिल्ने हो कि, नमिल्ने हो भनेर चासो राख्न थालेका छन् ।
निर्वाचन आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार २०७४ फागुनदेखि २०८० फागुनसम्म कायम हुनु भएका २० सांसदहरु बिदाइ हुन लाग्नु भएको हो ।निर्वाचन आयोगले सांसदहरूको निर्वाचनका लागि आन्तरिक तयार सुरु गरेको छ ।
राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुने छ । तीमध्ये संविधान जारी हुँदाको बखत पहिलो पटक सदस्यहरूको पदावधि गोला प्रथाद्वारा गरिएको थियो । अब बिदाइ हुने सूचीमा रहनु भएका सांसदको छ वर्षको पदावधि सकिन लागेको हो । यसअघि दुई वर्ष र चार वर्षको पदावधि सकिएका सांसदको विदाइ भइसकेको छ ।
यसरी बिदाइ हुनुहुनेमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि हुनुुुहुन्छ । उहाँ गण्डकी प्रदेशबाट पुरुष समूहबाट प्रतिनिधित्व गर्नुहुन्छ ।
यसैगरी, नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेशबाट अनिता देवकोटा महिला समूहबाट प्रतिनिधित्व गर्नुहुन्छ ।
यस्तै, कांग्रेसका मधेश प्रदेशबाट जितेन्द्र नारायण देव (पुरुष), गण्डकीबाट प्रकाश पन्थ (अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय), कोशी प्रदेशबाट रमेश जंग रायमाझी (पुरुष) पनि बिदाइको नजिकमा हुनुहुन्छ ।
नेकपा (एमाले) का तर्फबाट सुदूरपश्चिम प्रदेशबाट इन्दु कडरीया (महिला) समूहबाट, लुम्बिनीबाट खिमलाल भट्टराई (पुरुष), गण्डकीबाट दिपा गुरुङ (महिला), बागमतीबाट दिल कुमारी रावल थापा (पार्वती) (महिला), कर्णालीबाट नरपति लुवार (पुरुष-दलित समूह), कर्णालीबाट भैरव सुन्दर श्रेष्ठ (अन्य), बागमतीबाट रामचन्द्र राई (पुरुष-अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय) बाट प्रतिनिधित्व गर्नुहुने सदस्यहरु बिदाइको नजिक हुनुहुन्छ ।
यस्तै, नेकपा (माओवादी केन्द्र) का तर्फबाट सुदूरपश्चिम प्रदेशबाट महेश कुमार महरा (अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय), कोशी प्रदेशबाट बिना पोखरेल (महिला), सुदूरपश्चिमबाट हरि राम चौधरी (पुरुष) समूहबाट प्रतिनिधित्व गर्नुहुने सांसद हुनुहुन्छ ।
यसैगरी, नेकपा (एकीकृत समाजवादी) का तर्फबाट कर्णाली प्रदेशबाट नन्दा चपाई (महिला) र बागमती प्रदेशका सिंग बहादुर विश्वकर्मा (दलित), जनता समाजवादी पार्टीका मधेश प्रदेशबाट प्रमिला कुमारी (महिला) समूहबाट प्रतिनिधित्व गर्नुहुुने सांसद हुनुहुन्छ ।
यसैगरी, स्वतन्त्र सांसद बागमती प्रदेशबाट खिमलाल देवकोटा (पुरुष) समूहबाट बिदाइको नजिक हुनुहुन्छ ।
अर्यालले भन्नुभयो, “विगतमा जुन प्रदेश र समूहबाट प्रतिनिधित्व गरेर निर्वाचित हुनुभएको हो, रिक्त पदमा सोही प्रदेश र समूहबाट मात्रै पदपूर्ति हुनेछ ।”
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनीत हुनुभएका डा. विमला राई पौड्यालको पनि पदावधि सकिएका कारण बिदाइको नजिक हुनुहुन्छ । सांसद पौड्यालको रिक्त पदमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद मनोनीत गर्नुहुनेछ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend