पब्लिक सूचना
पोखरा । सधैँ कर्मचारी अभावका कारण कार्यप्रगति नभएको गुनासो गरिरहने स्थानीय र प्रदेश सरकारलाई केही राहत हुने भएको छ । गण्डकीको लोकसेवा आयोगले एकै पटक १ हजार भन्दा बढी कर्मचारी भर्ना गर्न विज्ञापन खुलाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेका दरबन्दीमा आयोगले कर्मचारी भर्ना गर्न आवेदन मागेको हो । केही तहमा आन्तरिक बढुवा र केही नयाँ कर्मचारी भर्ना गर्ने तयारी आयोगको छ । १ हजार २ कर्मचारीका लागि आवेदन खुला गरिएको आयोगले जनाएको छ । प्रदेश र स्थानीय तहका लागि अधिकृत सातौँ र सहायक पाँचौँ तहका कर्मचारी भर्ना गर्न लागिएको सदस्य कल्पना लम्सालले जानकारी दिइन् ।
उनका अनुसार विज्ञापन गरिएका पदहरूमा प्रशासकीय अधिकृत, राजस्व अधिकृत, लेखा अधिकृत, तथ्याङ्क अधिकृत, सव–इन्जिनियर, पशु स्वास्थ्य प्राविधिक, मत्स्य प्राविधिक, रेन्जर, भू–संरक्षण सहायक, प्राविधिक सहायक, स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, हेल्थ असिस्टेन्ट, कविराज, ल्याब टेक्निसियन, मेडिकल रेकर्ड सुपरभाइजर, बायोमेडिकल टेक्निसियन, एनेस्थेसिया सुपरभाइजर, वरिष्ठ प्रशासन सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ आन्तरिक लेखा परीक्षक सहायक लगायत छन् ।
मंसिर ५ गतेसम्म आवेदन दिने म्याद छ । दोब्बर दस्तुर तिरेर १२ गतेसम्म दरखास्त दिन मिल्ने उनले बताइन् । गण्डकी सरकारले यसअघि नै प्रदेश र स्थानीय तहको निजामती सेवा ऐन तथा नियमावली ल्याइसकेको छ । प्रतिस्पर्धामा सबै प्रदेशका नागरिक सहभागी हुन पाउने छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend