पब्लिक सूचना
काठमाडौं, असोज १२ गते । चाडबाड नजिकिएसँगै बजारमा कालोबजारी झन् बढ्दै गएको पाइएको छ । बजेट भाषणसँगै मूल्यवृद्धि हुने भन्दै असारमा विभिन्न सामग्री लुकाउँदै कृतिम अभाव सिर्जना गर्ने गर्छन र दशैं तिहार नजिकिएसँगै अत्यावश्यक उपभोग्य सामग्रीको कालोबजार गर्ने गरेको छ ।
सरकारी निकायले बजार अनुगमन गर्ने गरे पनि यो नामको मात्र अनुगमन भएका कारण कालोबजारी झन् बढ्दै गएको उपभोक्ताहरुको आरोप छ । बजारमा हिजोआज चिनीको कृत्रिम अभाव सृजना गरेको छ तर सरकारी निकायले कडाइका साथ अनुगमन गर्न नसक्दा उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ ।
अनुगमनलाई निर्मम र कडा बनाउनुपर्ने सुझाव उपभोक्ताको छ । दशैँ, तिहार, छठ जस्ता ठूला चाडपर्व नजिकिँदा बजारमा उपभोग्य वस्तुको मूल्य अचाक्ली महँगिएको छ । बजारमा चिनीको मूल्य प्रतिकेजी १४० रुपियाँ पुगेको छ । जब सरकारी संस्था साल्ट ट्रेडिङ्ले चिनीको मूल्य प्रतिकेजी ९७ रुपियाँ मात्र कायम गरेको छ । चिनी मात्र होइन अन्य उपभोगका सामानमा पनि मूल्यवृद्धि भएको छ ।
बिहीबार मात्र काठमाडौंको कुलेश्वरमा रहेको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा गुह्येश्वरी ट्रेडिङकाे गोदाममा ७० हजार किलो चिनी भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो ।
स्थानीय तहलाई बजार अनुगमनसम्बन्धी कानुनतः अधिकार प्रदान गरे पनि अनुगमन प्रभावकारी नहुँदा उपभोक्ताले मूल्यवृद्धिको मार खेप्नु परेको छ । स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो सेवा सुविधा बढाउने तर जनताको उपभोक्ता स्वास्थ्यप्रति ध्यान नदिनाले समस्या आएको आरोप लाग्दै आएको छ । कीर्तिपुर पाँगाबजार चोकमा रहेको पाँगा किराना पसल सञ्चालन गरेका सुरज महर्जन बजारमा चिनीको खरिद मूल्य बढेकाले १४० रुपियाँमा चिनी बिक्री गर्नुपरेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले चिनी खरिद गर्दा नै होलसेलमा महँगो छ । त्यसैले चिनीको मूल्य पनि बढेको छ । मेरो लगायत सबै खुद्रा पसलमा चिनीको मूल्य प्रतिकेजी १४० रुपियाँ छ ।” उहाँका अनुसार एक साता यता बजारमा चिनी पाउन पनि समस्या हुँदै गएको छ ।
महर्जनले भन्नुभयो, “दशैँ, तिहार जस्ता ठूला चाडपर्वहरु आउँदा सधैँ बजारमा चिनीकाे अभाव हुन्छ । एक साता भयो होलसेलमा चिनी खरिद गर्न जाँदा चिनी छैन भन्दै थोरै मात्र दिन्छन् ।”
चार सय टन चिनी मौज्दात
सरकारसँग अहिले चार सय टन चिनी मौज्दात छ । साल्ट ट्रेडिङ् कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार चार सय टन चिनी मौज्दात नै छ । कर्पोरेसनको बिक्री केन्द्रहरुमा प्रतिकेजी ९७ रुपियाँमै चिनी बिक्री भइरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “साल्ट्र ट्रेडिङ् कर्पोरेसनसँग चार सय टन चिनी मौज्दात छ । कर्पोरेसनका बिक्री केन्द्रबाट प्रतिकेजी ९७ रुपियाँमा चिनी बिक्री भइरहेको छ ।” प्रतिव्यक्तिले दुई केजी मात्र चिनी खरिद गर्न सक्ने उहाँले बताउनुभयो ।
२० हजार टन चिनी खरिद हुँदै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ् कम्पनी लिमिटेडले २० हजार टन चिनी खरिद गर्दै छन् । दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्वमा चिनी अभाव हुनसक्ने भएकाले यी कम्पनीहरुलाई चिनी खरिदको लागि अनुमति दिएको छ ।
साल्ट्र ट्रेडिङ् कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १०-१० हजार टन चिनी खरिद गर्न सक्ने गरी सरकारले अनुमति प्रदान गरेको छ ।
साल्ट ट्रेडिङ् कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार चिनी खरिदका लागि औपचारिक अनुमति आइसकेकाले केही दिनमै ग्लोबल टेण्डर आह्वान गरेर खरिदको प्रक्रिया थालिने छ ।
यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार चिनी खरिदको प्रक्रिया केही दिनमै सुरु हुनेछ । सकेसम्म सुपथ मूल्य पसल सञ्चालन अगावै चिनी खरिद गर्न सकेको खण्डमा आम सर्वसाधारणलाई सहुलियत मूल्यमै चिनी विक्री गर्न सकिने उहाँको भनाइ छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend