logo
  • शनिबार, असोज १७ २०८३

हेटौँडा अस्पतालका डाक्टरसहित ७८ स्वास्थ्‍यकर्मीले दिए राजीनामा, आकस्मिकबाहेक सबै सेवा बन्द


  • पब्लिक सूचना
  • शुक्रबार, भाद्र २९ २०८०

हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकसहित ७८ स्वास्थ्‍यकर्मीले सामूहिक राजीनामा दिएका छन्।

बुधबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त बिडारीलाई कुटपिट गर्नेलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिइएको हेटौँडा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर हरि खड्काले जानकारी दिए।

‘हामीले घटना घटेको ४८ घण्टासम्म कुर्‍यौँ। तर पीडितले न्याय पाउने छाँट नदेखिएपछि राजीनामा दिने निर्णयमा पुगेका हौँ’, डाक्टर हरि खड्काले भने, ‘हाम्रो पेसा सुरक्षित छैन। डिउटीमा खटिएकै अवस्थामा पिटाइ खानुपर्ने अवस्था अन्त्यका लागि राज्यले सोच्नुपर्ने। तर राज्य यो विषयमा बेखबरजस्तै भयो।’

उनका अनुसार दोषीलाई कारबाहीको दायरामा नल्याएकाले आजदेखि आकस्मिकबाहेक हेटौँडा अस्पतालका सबै सेवा बन्द गरी चिकित्सक/स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेका हुन्।

यसअघि चिकित्सक तथा स्वास्थ्यकर्मीले हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रामचन्द्र सापकोटालाई सामूहिक राजीनामा बुझाएका हुन्।

डाक्टरविरुद्ध सांघातिक आक्रमण गर्नेलाई कारबाही नगरेको, बिरामी डाक्टरहरुको उपचारमा सरकारी पक्षले कुनै जिम्मेवारी नलिएको तथा चिकित्सकविरुद्ध प्रशासन मौन बसेको गुनासो उनीहरूले गरेका छन्।

डेंगी संक्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको समूहले बुधबार अस्पतालभित्रै छिरेर दुईजना डाक्टरलाई कुटपिट गरेको हो।

पीडित चिकित्सकहरूलाई आक्रमणकारीले प्रहरीकै अगाडि ज्यान मार्ने धम्की दिँदासमेत प्रहरी निरीह बनेकाले स्वास्थकर्मीहरुले आज सामूहिक उजुरी दिने तयारीसमेत गरेको हेटौँडा अस्पतालका स्वास्थ्यकर्मी उत्सव चौलाागाईंले बताए।

त्यसो त चौतर्फी दबाब बढेपछि प्रहरीले सीसीटीभी फुटेजका आधारमा डाक्टरलाई कुटपिट गरेको आरोपमा प्रहरीले मृतकका श्रीमती रमा, छोरा रोहित, छोरी रमिता र भतिज अनुप प्रधानलाई पक्राउ गरिसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend