पब्लिक सूचना
हुम्ला, भदौ २६ गते । पहिलो पटक निर्माण हुन लागेको सिमकोट गाउँपालिका– ५ को मैनागाडामा निर्माण सुरु भएको मिनी बसपार्कको काम अधुरो नै छ भने आएको बजेट फिर्ता समेत भएको छ । गाउँपालिकाका प्राविधिक र निर्माण उपभोक्ता समितिबिच समन्वयको कमीको कारण निर्माणका लागि आएको बजेट फिर्ता गएको हो ।
सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले प्रदेश सरकारबाट मिनी बसपार्क निर्माणका लागि आएको बजेटमध्ये सात लाखभन्दा बढी फिर्ता गएको बताउनुभयो । बसर्पाक निर्माणका लागि पचास लाख बजेट विनियोजित भएको थियो । उहाँले समयमै सम्झौता भएर निर्माण कार्य सुरु भएको भएपनि बजेट फिर्ता जानु र काम अधुरो रहनु दुखद पक्ष भएको बताउनुभयो ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष शान्ति लामाले गाउँपालिकाका प्राविधिकले बजेट अनुसारको काम भएको भनेपछि काम रोकिएको तर पछि अन्तिम मूल्याङ्कन गर्दा लागत इष्टिमेट अनुसार काम कम भएको प्राविधिकहरूले निकालेको कारण रकम फिर्ता गएको गुनासो सुनाउनुभयो । उहाँले प्राविधिकले समयमै काम पुरा नभएको जानकारी गराएको भए कति पनि बजेट फिर्ता नजाने बताउँदै प्राविधिकको कारण बजेट फिर्ता गएको बताउनुभयो ।
बसपार्कको काम एकातिर ग्याविन वाल लगाउने र जमिन सम्म्याउने काम भएको छ । प्राविधिकहरू स्थलगत रूपमा कम जानुको कारण बजेट फिर्ता जाने मुख्य समस्या रहेको सेवाग्राहीको गुनासो धेरै आउने गरेको छ । प्राविधिकहरूले टेबल काम बढी र फिल्डमा कम जाने भएको कारण समस्या देखिएको आरोप सेवाग्राहीको रहेको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend