logo
  • आइतबार, असोज १८ २०८३

माटोको भाँडा बनाउन भ्याइनभ्याई


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र १९ २०८०

चौठीचान्द अर्थात् चौरचन पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउने कार्यमा इनरुवाका कुम्भकारहरूलाई यतिबेला भ्याइनभ्याई छ । माटोको भाँडोमा खिर, दही, फलफूल सहितका प्रसाद सामग्री राखेर चन्द्रामालाई अर्घ दिएर तराई मदेशमा भदौ चतुर्थी तिथिका दिन मनाइने ‘चौठचन्द्र’ चौरचन पर्वका लागि वर्तीहरूलाई पुर्‍याउन माटोको भाँडो कुम्भकारहरूलाई भ्याइनभ्याई भएको हो ।

दुई सता अगाडि देखि नै सुनसरी सदरमुकाम इनरुवा २ बिहीबारे हाट पण्डित टोलका कुम्भकारहरू दैनिकजसो एकाबिहानै उठेर कोही माटो मुछ्न त कोही माटोको भाडा बनाउने काममा व्यस्त देखिन्छ । जिल्ला सदरमुकाम इनरुवाको पण्डित टोलमा सयौँ कुम्भकारहरूले माटोको भाडा बनाउन व्यस्त रहेको स्थानीय सन्दीपप्रसाद पण्डितले बताउनुभयो ।

पर्वमा आवश्यक गर्ने माटोको छाछछाछी, मटकुडी, घैला, दियो, दियो राख्ने बाला(लावैन) सहितका विभिन्न किसिमका भाँडाकुँडा बनाउने काममा व्यस्त बनेको स्थानीय रञ्जना पण्डितले बताउनुभयो । केहीले त एक महिना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएकाले आफूहरू अहिलेदेखि नै भाडा बनाउने काममा लागेको स्थानीय शिवनारायण पण्डितको भनाइ छ ।

चौरचनका लागि एकसेट माटोको भाँडोको दुई सय रुपियाँदेखि पाँच सय रुपियाँमा बिक्री हुने गरेको पण्डितले बताउनुभयो । उता बजारमा पाइने प्लास्टिक, स्टिल, पितलका सामग्रीले माटोको भाँडोको सधैँ बिक्री नभएपनि चार्डपर्वमा भने अनिवार्य जस्तै माग हुने भएकाले कुम्भकारहरूलाई यतिबेला भ्याइ–नभ्याई स्थानीय पत्रकार गनेश यादवले जानकारी दिनुभयो ।

कुम्भकारहरूलाई चौठीचान्द मात्रै नभई दीपावली तथा छठ पर्वमा पनि माटोको दियो, चौमुखे दियो, घैला(कलशा), लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरू सिजन अनुसार समान बनाउने काममा लागेको स्थानीय सियावती पण्डितले बताउनुभयो । पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिहरूको रोजीरोटी माटोसँग सम्बन्धित भाडाकुडाहरु बनाउने रहेकाले अरू समयभन्दा पर्वको बेला माटोको भाँडो बनाउने कार्यमा व्यस्त बनेका छन् । प्रजापति समुदायका व्यक्तिहरूले हात तथा मेसिनबाट बनाउने भाडोहरु बनाई गाउँघरदेखि सहरसम्म बेच्न पुग्छन् । यसपालि मिथिलाञ्चलमा असोज २ गते चौरचन पर्व मनाइने भएको छ । उक्त दिन साँझ चन्द्रमालाई माटोको भाँडोमा बनाएको दही, खिर, पुडी, फलफूल सहित राखेर पूजा गरी चौरचन पर्व मनाइनेछ ।

के हो चौठीचन्द पर्व ?

भदौ चतुर्थी तिथिका दिन मनाइने यो पर्वलाई ‘चौठचन्द्र’ चौरचन भनिन्छ । संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेद्ले गर्दा चौठी वा चौठ हुन गएको हो । लोक धारणाअनुसार भदौ शुक्ल चतुर्थीको दिन उदाउने चन्द्रमा चोर हुन्छ भनिन्छ । यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरेमा दोष लाग्दछ ।

हातमा कुनै फल वा नैवेद्य लिई यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यता समेत रहेको छ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्वको रूपमा दिन्छ । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिलि समाज विशेषतः मधेसी समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको छ ।

ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ । यही विश्वासले मैथिल समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई महत्त्व दिन्छ । मैथिल समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकत्व रहेका कारण मैथिल समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, सङ्गीत, चित्रकला लगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आराधना गर्दै आएको पाइन्छ । चन्द्रमालाई मनको देउता पनि भनिन्छ । ऋग्बेदमा धनको प्राप्ति एवम् सुस्वास्थ्यका लागि चन्द्रमाको यत्रतत्र प्रार्थना गरिएको पाइन्छ ।

चन्द्रमाको उपासनाले कफ रोग निको हुने, वीर्य दोषबाट निवृत्ति र चञ्चल मन एकाग्र हुने धारणा पाइन्छ । योग शास्त्रअनुसार चन्द्रबिम्बमा ध्यानले विश्वको समस्त घटनाको ज्ञान साधकले सहजताले प्राप्त हुन्छ । चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्य लागि पकवान पकाइन्छ । साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरी यो पर्व सम्पन्न हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend