पब्लिक सूचना
नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछाने आफू बिरामी नभएको बताएका छन् । नेपाली क्रिकेट टोली आज राती १ बजे एसिया कप खेल्न पाकिस्तान जाँदैछ। उक्त टोलीमा सन्दीप छैनन् । नेपाल क्रिकेट संघ(क्यान) ले सन्दीप बिरामी हुँदा नजाने बताएको थियो । तर सन्दीपले भने आफू पूर्ण रुपमा फिट भएको बताएका छन् ।
क्यानले दिउँसो साढे चार बजे आज एभरेष्ट होटल बानेश्वरमा पत्रकार आयोजना गरेको थियो । उक्त पत्रकारसँगको कुराकानीमा मुख्य प्रशिक्षक मोन्टी देशाई, कप्तान रोहित पौडेल र एसिया कपका म्यानेजर प्रदीप मजगैयाँ थिए । सन्दीप बारे सोधिएको प्रश्नमा मजगैयाँले उनी बिरामी भएको बताएका थिए ।
‘यो खास सबैको चिन्ताको विषय पनि हो । खासगरी उसको स्वास्थ्यमा समस्या पनि देखिएको हो । वहाँ अहिले हामीसँग जानुहुन्न । हाम्रो खेल ३० अगष्टमा छ । यदि वहाँको स्वास्थ्य अवस्था ठिक भएमा लैजाने प्रयास क्यानले गरि राखेको छ । हामीसँग वहाँ सम्पर्कमा हुनुन्छ । होटल पनि आइरहनु भएको छ । अहिले नै जानुहुँदैन भनेर हामी भन्न सक्दैनौं । जाने सम्भावना छ’, मजगैयाँले पत्रकारसँगको कुराकानीमा भने ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले त्यस पहिला नै सन्दीप बिरामी भएको हुँदा नगएको बताएका थिए । तर पत्रकारसँगको कुराकानी पछि सन्दीप टिमलाई भेट्न होटल पुगेका थिए । सन्दीपले आफू बिरामी नभएको बताएका थिए । अनौपचारिक रुपमा सन्दीपले आफू पूर्णरुपमा फिट भएको र आफू विरामी भएको विषयमा होटल आएपछि मात्रै थाहा पाएको बताएका थिए ।
क्यान र टिम दुबैले सन्दीप के बिरामी भएको बताउन भने सकेका थिएनन् । आज नै राष्ट्रिपति रामचन्द्र पौडेलले दिउँसो २बजे शीतलनिवासमा बोलाउँदै एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गर्नुको साथै शुभकामना दिएका थिए ।
सन्दीप राष्ट्रपतिको बिदाई कार्यक्रममा सहभागी भएनन् । नेपाली टोलीले आइतबार र सोमबार बन्द प्रशिक्षण गर्दा उनी अभ्यासमा पनि गएका थिएनन् ।
नाबालिग बलात्कारको आरोपमा सन्दीप पछिल्लो एक वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा मुद्दा खेपिरहेका छन्। पछिल्लो बहसमा अदालतले पिडितको आमाको जन्म मिति यकिन गर्न आदेश दिएको थियो । उनको काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दाले मानसिक रूपमा खेल्न तयार नभएको बुझिएको छ ।
एसिया कप ३० अगष्ट देखि १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, पाकिस्तान र भारत छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ । सन्दीप बाहेक नेपाली टोली आज राती पाकिस्तान जाँदैछ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend