logo
  • आइतबार, असोज १८ २०८३

संखुवासभामा दुई कैदी मृत्यु प्रकरणः १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी


  • पब्लिक सूचना
  • शुक्रबार, साउन २६ २०८०

जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको मृत्यु भएको घटनामा १० जना प्रहरी अनुसन्धानमा तानिएका छन्।

कारागारबाट भाग्न लागेको अवस्था नियन्त्रणमा लिइएका दुई कैदीबन्दी बुधबार बिहान ६ बजे कारागारमै अचेत फेला परेका थिए ।

घटना हुँदा ड्युटीमा रहेका १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेलले जानकारी दिए।

उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन। पक्राउ पर्नेहरूमा त्यो रात ड्युटीमा रहेका असईदेखि प्रहरी जवानसम्म छन्।

मादी नगरपालिका-५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका-७ नुवाकोटका २८ वर्षीय आकाश बलामी कारागारमा अचेत भेटिएका थिए। बिहान ६ बजे उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो।

उनीहरू राति २ बजे कारागारबाट भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार प्रशासनको जिम्मा लगाएको थियो। भोलिपल्ट उनीहरू अचेत रहेको सूचना कैदीबन्दीले नै प्रशासनलाई दिएका थिए।

त्यसपछि घटनाको शंकास्पद् रहेकाले अनुसन्धानका लागि सोही दिन संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति गठन भएको थियो।

पछि प्रदेश प्रहरी कार्यालयका एसपी कँडेलको नेतृत्वमा ४ सदस्यीय र कारागार व्यवस्थापन  विभागका अधिकृत कमल पाण्डे नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएर घटनाको अनुसन्धान भइरहेको छ।

सिसिटिभीमा प्रहरीले कुटपिट र लछारपछार गरेको दृश्य

छानबिन समितिले बुधबार नै कारागारबाट सिसिटिभी संकलन गरेको थियो। घटना सेलभित्र भएको र त्यहाँ सिसिटिभी नराखिने हुँदा समितिले बाहिरका सिसिटिभी संकलन गरी त्यहाँ आउजाउ गर्ने प्रहरीको क्रियाकलाप हेरेको छ।

छानबिन समितिमा रहेका एक सदस्यका अनुसार सिसिटिभीमा केही प्रहरीहरूले कैदीबन्दीलाई लछारपछार र कुटपिट गरेको दृश्य भेट्टाइएको छ। त्यसबारेमा सम्बन्धित प्रहरीमाथि सोधपुछ र अनुसन्धान भइरहेको छ।

शुक्रबार साँझसम्म ठोस विवरण खुल्ने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कँडेलले बताए। पक्राउ परेका प्रहरीहरूलाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखिएको छ।

घटनाको अनुसन्धानका लागि ९ जना कैदीबन्दीलाई पनि नियन्त्रणमा लिइएको छ। कैदीबन्दीहरूले नै आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिएर छुट्टै कारागारमा राखिएको छ।

हाल कारागारमा १३८ कैदीबन्दी छन्। दुई कैदी अचेत भेटिएको कोठामा ३८ जना कैदीबन्दी थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend