पब्लिक सूचना
जिब्रोमा ट्वाक्क लाग्ने स्वादिलो अचारसँग खाना खानुको मजा नै बेग्लै! तर सधैं अचार बनाउन नभ्याइएला, जाँगर नचल्ला! फरक स्वादको पनि खान मन लाग्ला!
यस्तै अवस्थाका लागि दुई साथीले ल्याएका हुन् ‘देसना’।
देसना मोनिका श्रेष्ठ र आशुतोष गोल्यानले ‘गृहिणी फुड उद्योग’ मार्फत ल्याएको अचार ब्रान्ड हो। झन्डै दुई वर्षदेखि यसले आँप, लप्सी, टिमुर, डल्ले खुर्सानी र तामाको अचार उपलब्ध गराउँदै आएको छ।

‘देसना अचार हामीले बनाउने भने होइन,’ मोनिकाले भनिन्, ‘१५ जना महिलाहरू देसनामा जोडिनुभएको छ। उहाँहरूले आफ्नै घरमा तयार गरेको अचार देसनाले बिक्री गर्छ।’
अचार बनाउने तालिम र आवश्यक सामग्री देसनाले दिन्छ। मोनिका र आशुतोष सिजनअनुसारका सामग्री १५ जनाकै घरमा पुर्याइदिन्छन्। तयार भएपछि फोन आउँछ। उनीहरू ठूल्ठूला डब्बा लिएर घरमै पुग्छन्।
एउटा डब्बामा ६५ किलो अचार अटाउँछ। त्यो अचार ल्याएर सिनामंगलस्थित देसनाको उद्योगमा आवश्यकताअनुसारको तौलमा अचार प्याकेजिङ हुन्छ र यहीँबाट बजारमा पुग्छ। सिजनमा एक महिलाले दैनिक सरदर २० किलो अचार बनाउँछिन्।
‘उत्पादनको सबै काम गृहिणी महिलाहरूले गर्नुहुन्छ। उहाँहरू सबै देसनाका पार्टनर हो। हामी अचार जम्मा गरेर प्याकेजिङ गर्छौं र बजारमा पठाउँछौं,’ आशुतोषले भने, ‘मार्केटिङमा हामी नै लागेका छौं।’
देसनाले लहानबाट ल्याएको आँपको अमिलो र गुलियो गरी दुई स्वादमा अचार बेच्छ। सिन्धुपाल्चोक र फर्पिङको लप्सी, सल्यानको टिमुर, भोजपुरको डल्ले खुर्सानी र स्याङ्जाको तामाको अचार बन्छ। टिमुरको छोप पनि पाइन्छ।
ठाउँ विशेषको सामग्री ल्याउँदा स्थानीय उत्पादनको ब्रान्डिङ हुने मोनिका बताउँछिन्। त्यस्तै किसानसँग जोडिएर खेतबारीबाटै ल्याउँदा अर्गानिक पनि हुन्छ।
देसनामा सबभन्दा बढी मूल्य डल्ले खुर्सानीको अचारको छ भने सबभन्दा सस्तो आँपको। लप्सीको अचार उत्पादन मितिले एक वर्षसम्म र अरू दुई वर्षसम्म खान मिल्छ। धेरै माग भने लप्सी अचारकै छ।
इन्स्टाग्राम र फेसबुक मार्फत देसना अचार अर्डर गर्न सकिन्छ। काठमाडौं उपत्यकासँगै अन्य केही जिल्लामा पुगेको छ। अस्ट्रेलिया, जापान, अमेरिका र भारतमा पनि पुगेको आशुतोषले बताए।
‘कुल उत्पादनको ७० प्रतिशत विदेश जान्छ,’ उनले भने, ‘देसना अन्तर्राष्ट्रिय बजारमा पुग्नकै लागि आएको हो। त्यहीअनुसारको उत्पादन र प्याकेजिङ गरेर पठाइरहेका छौं।’
व्यवसायमा सक्रिय आशुतोष र मोनिका दुवैको पढाइ पनि यो क्षेत्रसँगै सम्बन्धित छ। दुवैले एमबिए (मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन) सकेका छन्। उनीहरूको भेट पनि पढाइकै क्रममा भएको हो।

‘कलेज पढ्दै हामी मिलेर केही काम गर्नुपर्छ भनेर छलफल गर्थ्यौं,’ मोनिकाले भनिन्, ‘त्यति बेला ठ्याक्कै यही गर्ने भन्ने आइडिया चाहिँ थिएन। तर घरमै रहने गृहिणीहरू स्वरोजगार हुने गरी काम गर्नुपर्छ भन्नेमा एक मत थियो।’
माग बढ्दै गएपछि अमिलो र गुलियो स्वादमा आँपको र तामाको अचार थपे। आशुतोषका अनुसार विशेषगरी विदेशबाट माग आएपछि यी अचार थपिएका हुन्।
हाल देसनाको अचार बनाउन १५ जना गृहिणी संलग्न छन्। उनीहरूले बनाएको अचारको बट्टामा उनीहरूको नाम र फोटो राखिएको हुन्छ।
‘अचारकै बट्टामा यसरी फोटो र नामसहित परिचय दिँदा उहाँहरू पनि उद्यमी भनेर चिनिनुहुन्छ, हौसला बढ्छ,’ मोनिकाले भनिन्।
आशुतोष र मोनिकाको लक्ष्य दुई लाख महिलालाई देसनामा जोड्ने हो। यसनिम्ति देसना मोबाइल एप बनाएका छन्। घरमै अचार बनाउन चाहने गृहिणीहरू एपमार्फत जोडिन सक्नेछन्। जति धेरै गृहिणीलाई जोड्न सक्यो, उति धेरैका भान्सामा अचार पुग्छ, व्यापार बढ्छ र महिलाको स्वरोजगारी बढ्छ भन्ने उनीहरूको विश्वास छ।
सञ्चालकद्वय भन्छन्, ‘दुई वर्षमा देसना चारवटा देशमा पुगेको छ, अब पाँच वर्षमा सातवटा देशमा पुर्याउने लक्ष्य छ। हामी मागअनुसार अचारका परिकार थप्दै र गुणस्तर बढाउँदै अघि बढ्दैछौं।’
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend