logo
  • शनिबार, कार्तिक ८ २०८३

ब्राजिलमा फोर्डको ठाउँमा अब बिवाइडीको फ्याक्ट्री


  • पब्लिक सूचना
  • शनिबार, कार्तिक ८ २०८३

ब्राजिलको कामासारीमा कुनै बेला अमेरिकी कम्पनी फोर्डका गाडी बन्थे। अहिले त्यही औद्योगिक परिसरमा चीनको बिवाइडीले विद्युतीय र हाइब्रिड गाडी बनाइरहेको छ।

ब्राजिली सञ्चारमाध्यम बीन्युजका अनुसार, बिवाइडीले त्यहाँ गाडीका पार्टपुर्जा जोड्ने नयाँ एसेम्बली भवन बनाएको छ। फोर्डका पुराना संरचनामा पनि व्यापक फेरबदल गरेको छ। बिवाइडी अब त्यहाँको कारखाना थप विस्तार गर्ने तयारीमा छ। समाचार संस्था रोयटर्सका अनुसार, कम्पनीले वार्षिक उत्पादन क्षमता छ लाख गाडी पुर्‍याउन अनुमति लिने प्रक्रिया थालेको छ।

बिवाइडी ब्राजिलका वरिष्ठ उपाध्यक्ष अलेक्जान्द्रे बाल्डीले अक्टोबर २३ मा रोयटर्ससँगको कुराकानीमा यो जानकारी दिएका हुन्। विस्तार कहिलेसम्म पूरा हुन्छ भन्ने समय भने उनले खुलाएका छैनन्। फोर्डले सन् २०२१ को जनवरीमा कामासारीमा गाडी उत्पादन बन्द गर्ने घोषणा गरेको थियो। ब्राजिलमा रहेका अरू दुई कारखाना पनि त्यही वर्ष बन्द गर्ने निर्णय भएको थियो।

त्यतिबेला फोर्डले जारी गरेको विज्ञप्तिमा वर्षौंदेखिको घाटा र सुस्त बिक्रीलाई मुख्य कारण भनिएको थियो। कोरोना महामारीले यी समस्या थप चर्काएको कम्पनीले जनाएको थियो। फोर्डले ब्राजिलमै गाडी बनाउन छाडे पनि त्यहाँ बिक्री बन्द गरेको थिएन। उसले अर्जेन्टिना, उरुग्वेलगायत देशबाट गाडी ल्याएर बेच्ने र ब्राजिलमा अनुसन्धान तथा विकासका काम कायम राख्ने जनाएको थियो।

सन् २०२३ को जुलाईमा बिवाइडीले ब्राजिलको बाहियामा औद्योगिक परिसर बनाउने सम्झौता घोषणा गर्‍यो। कामासारी बाहिया राज्यमै पर्छ।  कम्पनीले सन् २०२५ को अक्टोबर ९ मा त्यहाँ कारखाना उद्घाटन गर्‍यो। कम्पनीका अनुसार, उक्त कारखानामा डल्फिन मिनी, किङ र सङ प्रो मोडलका गाडी बनाइन्छन्। डल्फिन मिनी पूर्ण विद्युतीय गाडी हो। किङ र सङ प्रो हाइब्रिड हुन्, जसमा बिजुलीसँगै इन्जिन पनि प्रयोग हुन्छ।

कम्पनीले अक्टोबर २ मा सार्वजनिक गरेको विवरणअनुसार, त्यहाँ साढे आठ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका थिए।  कम्पनीलाई उद्धृत गर्दै ब्राजिली सञ्चारमाध्यम अटोओले अक्टोबर २३ मा जनाएअनुसार, अहिले यो संख्या करिब नौ हजार छ। वर्षको अन्त्यसम्म दस हजार पुर्‍याउने लक्ष्य छ।

काम पाउनेमध्ये एक हुन्, एड्नेई दोस सान्तोस सिल्भा। गत जुलाईमा उनलाई कारखानाको पाँच हजार पाँच सयौं कर्मचारीका रूपमा कम्पनीले चिनाएको थियो। कम्पनीले सार्वजनिक गरेको विवरणमा उनले काम नपाएर अनिश्चित अवस्थामा बसेको र नयाँ रोजगारीले भविष्यको योजना बनाउन सघाएको बताएका छन्।

बिवाइडीको विस्तारसँगै ब्राजिलमा विद्युतीय तथा हाइब्रिड गाडीको बजार पनि बढेको छ। ब्राजिलको विद्युतीय सवारी संघ एबीभीईका अनुसार, गत सेप्टेम्बरमा यस्ता ५३ हजारभन्दा बढी हलुका सवारी दर्ता भए। यसमा पूर्ण विद्युतीयसँगै विभिन्न प्रकारका हाइब्रिड गाडी समावेश छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend