logo
  • सोमबार, असोज २६ २०८३

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ आज भारत जाँदै


  • पब्लिक सूचना
  • सोमबार, असोज २६ २०८३

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गर्ने भएका छन्।

उनी दिउँसो १:३० बजेको नेपाल एयरलाइन्सको उडानबाट नयाँ दिल्लीतर्फ लागेका हुन्।

बिमस्टेक सदस्य राष्ट्रहरू बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरू यस बैठकमा सहभागी हुनेछन्। सन् १९९७ मा बिमस्टेक स्थापना भएयता पहिलोपटक गृहमन्त्रीस्तरीय बैठक आयोजना हुन लागेको हो।

यसअघि विभिन्न मितिमा बसेका बिमस्टेकका गृहसचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकले सिफारिस गरेका बहुआयामिक सुरक्षा मुद्दाहरूमा गृहमन्त्रीहरूबिच छलफल हुने बताइएको छ। गृहमन्त्रीस्तरीय बैठकलाई गृह तथा आन्तरिक मन्त्रालयका वरिष्ठ अधिकारीहरूको बैठकले सहयोग पुर्‍याउनेछ।

बिमस्टेकको क्षेत्रीय एजेन्डामा सुरक्षा सहकार्य एक महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ। सन् २०१८ को अगस्टमा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले कानुन कार्यान्वयन गर्ने निकाय, गुप्तचर र सुरक्षा एजेन्सीबीच सहकार्य तथा समन्वय सुदृढ गर्ने प्रतिबद्धता जनाएका थिए। सोही सम्मेलनमा आतङ्कवाद नियन्त्रण र सीमापार अपराध नियन्त्रणमा सहकार्य बढाउन गृहमन्त्रीस्तरीय बैठक तथा राष्ट्रिय सुरक्षा प्रमुखहरूको बैठकलाई निरन्तरता दिने निर्णय गरिएको थियो।

मन्त्रीस्तरीय जमघटअघि बिमस्टेकका गृहसचिवहरूको बैठक बस्ने नेपाली अधिकारीहरूले जनाएका छन्। भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहलगायत अन्य सदस्य राष्ट्रका गृहमन्त्रीहरूसँग द्विपक्षीय छलफल गर्ने तय भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend