पब्लिक सूचना
बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोसप तथा एआई प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसट र सामग्रीमार्फत हवाई भाडासम्बन्धी भ्रम फैलाइएको भन्दै त्यस्ता सूचनाको पछि नलाग्न यात्रुहरूलाई आग्रह गरेको छ।
बुद्ध एयरले जारी गरेको प्रेस विज्ञप्तिमा विपद्को अवस्थालाई ध्यानमा राख्दै धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८०० रूपैयाँमा उपलब्ध गराउँदै आएको स्पष्ट पारेको छ। न्यूनतम भाडामा टिकट उपलब्ध गराइएकाले अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ।
बाढी तथा पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेपछि लामो समयसम्म सडक यातायात अवरुद्ध भएको अवस्थालाई ध्यानमा राखी यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले बुद्ध एयरले बाटोबाट सहज नहुने गन्तव्यमा चार्टर्डतर्फ र तितारसम्म न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने घोषणा गरी सोहीअनुसार कार्यान्वयन गर्दै आएको जनाएको छ।
अनधिकृत रूपमा बढी भाडा लिए कारबाही
बुद्ध एयरले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यमबाट कायम गरिएको भाडादरभन्दा बढी मूल्यमा टिकट बिक्री गरेको पाइएमा सम्बन्धित व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ।
कम्पनीले यस्तो कार्यमा संलग्नलाई जानकारी गराउँदै प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अघि बढाउने स्पष्ट पारेको छ।
त्यस्तै, सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट प्रसारित भ्रामक सूचना तथा स्क्रिनसटको आधारमा हवाई भाडासम्बन्धी धारणा नबनाउन बुद्ध एयरले यात्रुलाई आग्रह गरेको छ।
कम्पनीले आफ्नो आधिकारिक बिक्री माध्यम, वेबसाइट एवं मोबाइल एपबाट प्रकाशित आधिकारिक सूचनालाई मात्र आधार मान्न अनुरोध गरेको छ।
काठमाडौं आउने यात्रुको संख्या बढ्यो
बुद्ध एयरका अनुसार काठमाडौं बाहिरिने यात्रुको संख्या अहिले बढ्दो क्रममा छ भने भित्रिने यात्रुको संख्या कम रहेको छ।
काठमाडौं आउने यात्रुका लागि न्यूनतम भाडादरमा प्रोमो कोडमार्फत अफरसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कम्पनीले विपद्को कठिन अवस्थामा यात्रु तथा आमनागरिकलाई सहज, सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता निरन्तर कायम रहने जनाएको छ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend