पब्लिक सूचना
काठमाडौँ। बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका केही प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती प्रदेशको रसुवा जिल्लामा असोज १० गते बिहान १०:३० बजे आएको बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। अर्को सूचना नभएसम्मका लागि उक्त सडक खण्ड बन्द रहने बताइएको छ।
यसैगरी गण्डकी प्रदेशको म्याग्दी स्थित बेनि-जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका-२, बैसरीमा असोज १० गते बिहान ०५:५० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प छ।
त्यस्तै नवलपरासी (पूर्व) को कालीगण्डकी कोरिडोर अन्तर्गत बौदिकाली गाउँपालिका-३, जन्ती पहिरोमा असोज १४ गते दिउँसो १६:४५ बजे पहिरो खसेको थियो। हाल उक्त सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइए पनि साना सवारी मात्र चल्न सक्ने र ठूला गाडीहरू जान नसक्ने प्रहरीले जनाएको छ।
अवरुद्ध राजमार्गहरू खुलाउने प्रयास जारी रहेकाले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न प्रहरीले अनुरोध गरेको छ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend