१२ असोज, काठमाडौं । नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज बिहानबाट पुन: सुरु गरिएको छ । बिहान १० बजेसम्म सुरक्षित हिसाबले निकाल्ने गरी प्राविधिक तयारी गरिएको छ ।
‘प्राविधिकहरूसँग सल्लाह गरी सबै तयारी गरेका छौं । पुलको पिल्लरलाई कम भन्दा कम क्षति हुने गरी निकाल्ने तयारी भइरहेको छ,’ चितवन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने ।
क्रुजसिप निकाल्नका लागि क्रेनसमेत प्रयोग गरिने छ । क्रेन क्रुजसिप अड्किएको ठाउँ नजिकसम्म पुग्नका लागि हिजो राति अबेरसम्म दुईवटा एक्स्काभेटरमार्फत् बाटो बनाइएको थियो ।
आज बिहानपखसम्म पनि प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुखसहित इन्जिनियरहरूको टोली पनि काममा खटिएको थियो ।
क्रुजसिपलाई बाहिर निकाल्ने दुई विकल्प
उनका अनुसार क्रुज सिपलाई बाहिर निकाल्ने दुई विकल्पमा तयारी भइरहेको छ । पहिलो विकल्प सिंगै क्रुजसिपलाई तानेर साइडमा ल्याउने र दोस्रो विकल्प काटेर टुक्रा पारेर निकाल्ने गरी तयारी गरिएको प्रजिअ अर्यालले बताए ।